प्रधानमन्त्री छाडेर राष्ट्रपति लिने मनस्थितिमा माओवादी
काठमाडौँ– सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व छाड्नुपरे तयार हुने मनस्थितिमा पुगेको छ ।
एमालेको विशेष पहलमा सरकारको नेतृत्व गर्न पाए पनि प्रधानमन्त्री पद ‘सेरेमोनियल’ जस्तो बन्न लागेको भन्दै बरु प्रधानमन्त्री पद छाडेर राष्ट्रपति पद लिने मनस्थितिमा माओवादी केन्द्र पुगेको हो ।
माओवादी केन्द्रले नेपाली कांग्रेससहितको गठबन्धन ब्युँताउन अनौपचारिक यो विकल्प अघि सारेको हो ।
सरकारको नेतृत्व गर्न पाए पनि प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीको चंगुलमा फसेको विश्लेषण गर्दै माओवादी केन्द्रले यो विकल्प अघि सारेको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए ।
‘ओलीजी (नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली) ले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुने हो भने अब राष्ट्रपति र सभामुख पद कार्यकारी जस्तो र प्रधानमन्त्री पद सेरेमोनियल जस्तो हुने निश्चित छ, बरु मन्त्रीहरू कार्यकारी अधिकार भएका पदाधिकारी जस्ता देखिन सक्छन् । त्यसैले अध्यक्षज्यूलाई ओलीजीले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपति बनाउने सहमति गर्दै नगुर्नस् भनेर सुझाव दिइरहेका छौँ । यो कुरामा उहाँ (प्रधानमन्त्री प्रचण्ड) पनि सजग हुनुहुन्छ जस्तो लाग्छ,’ ती पदाधिकारीले सिएन नेपालसँग भने ।
माओवादी केन्द्रको गत सोमबार बसेको पदाधिकारी बैठकले राष्ट्रपतिको विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई दिने निर्णय गरेको थियो ।
प्रतिनिधिसभाको सभामुखमा एमाले नेता देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।
आफ्नो नेतृत्वको सरकारसँग मिलेर जान संसद्को सबैभन्दा ठुलो तथा पुस १० सम्मको सत्ता साझेदार दल नेपाली कांग्रेस पनि तयार भएपछि माओवादी केन्द्र एमालेको विकल्प खोज्न तयार भएको हो ।
एमालेसँग सत्ता साझेदारी कठिन हुँदै गएको र जहाँ पनि एमाले अध्यक्ष ओली हाबी भएको भन्दै प्रधानमन्त्री प्रचण्ड विकल्प खोज्न लागेका हुन् ।
यसरी विकल्प खोज्दा माओवादी केन्द्र सरकारको नेतृत्व छाड्न पनि तयार भएको अनौपचारिक सन्देश नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पठाइसकिएको माओवादी केन्द्रका अर्का एक नेताले दाबी गरे ।
उनका अनुसार पुस १० बिहानसम्म कांग्रेसले सरकारको नेतृत्व गर्ने र राष्ट्रपति माओवादी केन्द्रले पाउने भन्ने विषयमा दुवै दल सहमत थिए ।
‘कांग्रेसले पहिलो आधा कार्यकाल प्रधानमन्त्री चलाउने भन्ने विषयमा पनि माओवादीले असहमति जनाएको होइन, माओवादी केन्द्रलाई पूरै कार्यकाल राष्ट्रपति दिन पनि कांग्रेस तयार थियो, माओवादी केन्द्रबाट अग्नि सापकोटलाई राष्ट्रपति बनाउने प्रस्ताव गएको थियो, सापकोटाका विषयमा कांग्रेस सहमत हुन नसक्ने जस्तो देखियो, कांग्रेसले व्यक्तिका बारेमा पछि कुरा गरौँला भनेको थियो । एमालेले पहिलो कार्यकालका लागि नै प्रधानमन्त्री दिने भएपछि उता लागिएको न हो,’ माओवादी केन्द्रका ती पदाधिकारीले थपे ।
एमालेसहितको गठबन्धन सरकार चलाउन समस्या हुने देखिएपछि माओवादी केन्द्रमा राष्ट्रपति पद लिएर प्रधानमन्त्री पद छोड्दा पनि हुने मत बलियो हुँदै गएको माओवादीका एक युवा नेताले बताए ।
महत्वपूर्ण मन्त्रालय अरू पार्टीलाई दिनुपर्ने, संवैधानिक परिषद्मा प्रधानमन्त्री एक्लै हुने जस्ताे परिस्थिति निर्माण हुन लागेकाले माओवादीका लागि प्रधानमन्त्री पद छाडेर राष्ट्रपति लिँदा बढी उपलब्धिमूलक हुन सक्ने ती नेताको दाबी छ ।
त्यसका लागि अहिले राष्ट्रपति लिएर सरकारकाे नेतृत्व कांग्रेसले चाहे पहिलाे कार्यकाल नै दिने नत्र अढाई वर्षपछि कांग्रेसलाई सरकारकाे नेतृत्व छाड्न सकिने गरी सभापति देउवालाई सन्देश पठाइएकाे बताइएकाे छ।
‘सभामुख एमालेको, उपसभामुख रास्वपाको, राष्ट्रियसभाको अध्यक्ष एमालेको, प्रधानन्यायाधीश अहिलेसम्म कामु, विपक्षी दलको नेता को हो भन्ने अझै यकिन छैन,’ ती नेताले भने, ‘यस्तो अवस्थामा प्रधानमन्त्रीले संवैधानिक परिषद्मा केही गर्न सक्नुहुन्न ।’
यता, सरकारमा पनि गृह, अर्थ, परराष्ट्र जस्ता महत्वपूर्ण मन्त्रालय अरू पार्टीलाई दिनुपरेको भन्दै उनले भने, ‘यो सबै हेर्दा त अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदमा जागिर खाए जस्तो मात्रै हुन्छ, केही गर्न सक्नुहुन्न । केही गर्न सकिँदैन भने प्रधानमन्त्री पदको कुर्सी ओघटेर किन बस्नुपर्यो ? बरु राष्ट्रपति पद लिने, आधा कार्यकाल सरकारको पनि नेतृत्व गर्ने, त्यसो गर्दा बढी फाइदा देखिन्छ,’ ती नेताले भने ।
प्रचण्डलाई राष्ट्रपति बन्न युवा नेताहरूको दबाब
माओवादी केन्द्रका युवा नेताहरूले अध्यक्ष प्रचण्डलाई नै राष्ट्रपति बन्न दबाब दिएका छन् । भूमिकाको हिसावले राष्ट्रपति पद पनि कार्यकारी जस्तै हुन थालेकाले अध्यक्ष प्रचण्डलाई राष्ट्रपति बन्न आग्रह गरिएको माओवादी केन्द्रका एक युवा नेताले बताए ।
‘माओवादीले जनयुद्ध नगरेको भएपछि छिटै नेपालमा गणतन्त्र आउने नै थिएन, अर्थात् शीतल निवास बनेको नै माओवादीले गर्दा हो, माओवादीका लागि नै हो । पार्टीले अध्यक्ष प्रचण्डलाई राष्ट्रपति बनाउने भनेको पनि हो । राष्ट्रपति पद कार्यकारी नभएकोले मात्रै अध्यक्षज्यूले चासो नदेखाउनुभएको हो । उहाँ त ३ पटक प्रधानमन्त्री भइसक्नुभयो, अब उहाँ राष्ट्रपति बने माओवादी आन्दोलनको उपलब्धि थप संस्थागत हुन्छ पनि, हामीले यो कुरा अध्यक्ष प्रचण्डलाई पनि भनेका छौँ,’ ती युवा नेताले भने ।