पूर्वराजालाई मोदीको चेतावनी– आफ्नो ठाउँमा बस्नुस्
काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन् ।
शुक्रबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले काठमाडौंमा आयोजना गरेको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठिक ठाउँमा बस्न चेतावनी दिए ।
उनले १–२ हजार मान्छे जम्मा हुँदैमा पूर्वराजाले म नै राजा हुँ भन्ने सोचिरहेको भन्दै त्यस्तो नसोच्न चेतावनी दिए । देशमा गणतन्त्र आइसकेको र जनताको छोराछोरी राष्ट्रपति बन्न पाउने भन्दै उनले देश पश्चगमनतर्फ नफर्कने बताए ।
मानव जातिका लागि गणतन्त्र सबैभन्दा सुन्दर व्यवस्था भएको बताउँदै मन्त्री मोदीले पूर्वराजा शाहलाई आफूहरूले सम्मानपूर्वक नै ठिक ठाउँमा बस्न आग्रह गरेको स्पष्ट पारे ।
उनले आफूहरूले देशलाई ठिक दिशा दिइरहेको भन्दै देशलाई खल्बल्याउनेहरूलाई खबरदारी गर्नुपर्ने पनि बताए ।
यस्तै, मन्त्री मोदीले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताए । उनले देशको राजनीतिक अवस्था परिवर्तनका निम्ति पत्रकारहरूको ठुलो योगदान रहेको भन्दै प्रशंसासमेत गरे ।