प्रकोप क्षेत्रमै भेटिए दादुराको खोप नलगाएका बालबालिका
बाजुरा– जिल्लाको बुढीगंगा नगरपालिका–१ अम्कोटमा दादुराको लक्षण देखिएका बालबालिकाको नमुना संकलन गर्ने क्रममा कुनै पनि खोप नलगाएका बालबालिका पनि भेटिएका छन् ।
जिल्ला नै पूर्ण खोप घोषणा भइसके पनि तीन बालिकाले कुनै पनि खोप लगाएका थिएनन् ।
बिहीबार बूढीगंगा स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीले दादुराको लक्षण देखा परेका आठ बालबालिकाको रगतको नमुना लिने क्रममा तीन बालबालिकाले हालसम्म कुनै पनि खोप नलगाएको पाइएको स्वास्थ्य शाखा संयोजक दीपक शाहले बताए ।
नमुना लिइएका ८ बालबालिकामध्ये २ बालिका भारतबाट २ साताअघि घर आएका र १ बालिका २ वर्षपहिले मात्र घर आएपछि उनीहरूले खोप नपाएको खुल्न आएको उनले जानकारी दिए ।
खोप नलगाउनेमा सोही नगरपालिका–१ अम्कोटका तीन वर्षीया आशिका नेपाली, पाँच वर्षीया अनुस्का नेपाली र निशा नेपाली रहेका छन् ।
दादुरा तथा रुबेला रोगको लक्षण देखा परेका बालबालिको उपचारका लागि २ घन्टाको पैदल बाटो हिँडेर धुरालसैन आधारभूत स्वास्थ्यचौकीमा जाँदा स्वास्थ्यकर्मीले उपचार नगरेर नगरपालिकालाई खबर गर्छांै, घर जानु भनेर फर्काएको आफन्त कलशी नेपालीले बताइन् ।
उनले स्वास्थ्य केन्द्रमा उपचार नै नगराएर स्वास्थ्यकर्मीले घर फर्काएपछि बालबालिकाको ज्यान जाने हो कि भनेर आफू चिन्तित बनेकीमा नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी आएर उपचार गरेपछि बल्ल ढुक्क भएको उल्लेख गरिन् ।
गाउँमा २० परिवारका बालबालिका बिरामी भएको २ साता बित्न लागेपछि हिँडेरै उनीहरू २ घन्टा टाढा रहेको धुरालसैन स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेका थिए ।