Nic Ad Nic Ad
Nic Ad Nic Ad
स्थानीय सरकारकाे नालायकी

ठाउँ न ठहर, रूख रोप्ने रहर [भिडियो रिपोर्ट]

फुटपाथ ओगटेर रूख रोप्दा पैदलयात्रुलाई सकस 
शनिबार, फागुन १३, २०७९

काठमाडौँ– साँघुरो फुटपाथ, सडकको दुवै किनारमा फलामे जालीले बेरेर विरुवा रोपिएको छ ।

त्रिपुरेश्वर–टेकु सडकखण्डको दुवै किनारमा फुटपाथ ओगटेर बिरुवा रोपिँदा पैदलयात्रुलाई समस्या हुने गरेको छ ।

पैदलयात्रा गर्न बनाइएको फुटपाथ एक त निकै सानो छ । त्यसमाथि पनि फलामे जालीभित्र रूख रोप्न फुटपाथकै संरचना प्रयोग गरिँदा खास गरी उक्त सडकमा आवतजावत गर्ने यात्रुलाई समस्या हुने गरेको छ ।

footpath plant (6)1677236886.png

काठमाडौँ महानगरले पसल तथा व्यवसायजन्य वस्तुहरू फुटपाथमा राख्न बन्द गराए पनि त्यस क्षेत्रमा भने फुटपाथ अझै हटेको छैन । कतै पसलका सामानहरू फुटपाथमै राखिएको छ, कतै झुन्ड्याइएको छ ।

फुटपाथ ओगटेर फलामे बार लगाएर रूख रोपिँदा पैदलयात्रा गर्न कठिन हुने गरेको पैदलयात्रुको गुनासो छ । सर्वसाधारणलाई हिँड्न भनेर बनाइएको फुटपाथमा रूख रोप्ने रहर छ, काठमाडौँ महानगरको ।

साँघुरो फुटपाथका कारण एक त यात्रा गर्नै कठिन भएको परिस्थिति छ, त्यसमाथि त्यहीँ रूख रोप्दा साँघुरिएको फुटपाथ धराप बनेको छ । त्यस खण्डमा दैनिक पैदलयात्रा गर्ने जोकोहीले पनि भोग्ने नियति पनि यही हो ।

काठमाडौँ महानगरपालिका–११ र १२ मा पर्ने त्रिपुरेश्वर–टेकु सडकका दुवै छेउमा कर्मकाण्डी रूपमा रूख रोपिएको छ । रोपिएका रूख कतै सुकिसकेका छन् भने कतै भाँचिएका छन् । 

footpath plant (3)1677236883.png

त्यसको संरक्षण र व्यवस्थापन नहुँदा फुटपाथ अस्तव्यस्त बनेको छ । काठमाडौँ महानगरपालिका–११ का वडाध्यक्ष हिरालाल तण्डुकारले यसअघि नै सानो फुटपाथमा रूख रोप्न दिन नहुने भने पनि महानगरले सडकको हरियाली र सहरको सौन्दर्यका लागि रूख रोप्न दिने गरी स्वीकृति दिएको बताए ।

अहिले रोटरी क्लब, त्रिपुरेश्वर र टेकुले त्यस खण्डको सडक छेउछाउमा रूख रोपेका छन् । तर, रोपिएका रूखको संरक्षण समेत हुन सकेको छैन ।

रूख रोपेर न सहर हरियाली देखिएको छ, न त फुटपाथ नै चाक्लिएको छ । बरु पैदलयात्रुलाई दिनहुँ सास्ती मात्रै भएको छ ।

footpath plant (5)1677236885.png

‘सानो फुटपाथ छ, रूख रोप्न नदिने भनेर हामीले रोटरी क्लबसँग लामै समय ‘डिसकस’ गर्‍यौँ । पछि महानगरबाट नै हरियाली सडक र सौन्दर्यका लागि रूख रोप्न दिने भनेपछि रोटरी क्लबले रूख रोपेको छ,’ उनले भने, ‘रूख रोपे पनि धेरैजसो मरिसकेका छन्, भाँचिएका छन् । व्यवस्थापनमा ध्यान दिइएको छैन । पैदलयात्रुलाई सास्ती मात्रै भएको छ ।’ 

सिएन नेपालको टिम त्यस खण्डमा पुग्दा यात्रा गर्ने सर्वसाधारणले पनि पैदलयात्रा गर्न असहज भएको सुनाए ।

पैदलयात्रुलाई अवरोध हुने किसिमले फुटपाथ मिचेर रूख रोप्नुको कुनै औचित्य नभएको बताउँछन्, पैदलायात्रुमध्येकै दुर्गाप्रसाद खनाल । उनले बाटोमा रूख रोपे पनि त्यसको व्यवस्थापन र अनुगमन हुनुपर्ने बताए ।

footpath plant (6)1677236886.png

‘राज्यले लाखौँ, करोडौँ रूपैयाँ खर्चेर सडक किनारमा रूख बिरुवा रोप्छ । तर, त्यसको संरक्षण व्यवस्थापन हुँदैन । पैदलयात्रा गर्ने ठाउँ मिचेर रूख रोप्नु गलत हो । यसले तपाईं हामी सबैलाई सडकमा यात्रा गर्न कठिन बनाएको छ,’ उनले बताए ।

सो सडकखण्डमा रूखले मात्रै बाटो छेकेको छैन, पसल–व्यवसाय गर्नेहरूले पनि फुटपाथ नै ओगटेर आफ्ना सामान राख्ने गरेका छन् । यसले पनि यात्रुलाई असहज बनाएको छ ।

footpath plant (2)1677236883.png

‘यहाँको फुटपाथ निकै साँघुरो हुँदा हिँड्न कठिन बनेको छ । मापदण्ड के हो थाहा छैन । साँघुरो फुटपाथमै अझ बिरुवा रोपिएको छ । व्यापारीहरूले पनि भर्‍याङ र फुटपाथमै सामान राखेका छन्,’ अर्का एक यात्रुले भने, ‘यसले हामीलाई आवतजावतमा समस्या थपेको छ ।’
 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ०९:२७
प्रतिक्रिया दिनुहोस्