‘रत्नपार्कमा नजानू है !’
वीर अस्पतालमा बिरामी भएर आएकी रमा आन्टीका पति विदेशबाट फोन गरेर सम्झाइरहेका थिए ।
गाउँको कन्दराबाट उपचारका लागि वीर अस्पताल आएकी उनलाई विदेशमा रहेका पतिले सम्झाइरहेको सुन्दा म अच्चममा परेँ ।
पिसाबमा रगत देखिएपछि जाँच गर्न म पनि वीर अस्पताल पुगेको थिएँ । वीरमा पुगेर करिब २ घन्टा लाइन लागेपछि पैसा तिरेर पिसाब र रगत जाँचका लागि दिने अवसर पाइयो ।
रगत र पिसाबको रिपोर्ट लिन केही दिन कुर्नुपर्ने भयो । भिडियो एक्सरेका लागि नजिकैको प्राइभेट क्लिनिकमा पठाइएको थियो । वीरमा भिडियो एक्सरे गर्न करिब १ महिनापछि मात्र पालो आउने भयो ।
मैले बरु प्राइभेटमा गर्छु भनेपछि त्यहाँ पठाइएको हो । त्यही क्लिनिकमा थिइन् रमा आन्टी पनि ।
पाठेघरसम्बन्धी समस्याका कारण उनी सुदूरको अछामबाट त्यहाँ आएकी थिइन् ।
रमा आन्टीको र मेरो घरको सिमाना कर्णाली नदीले छुट्याएको छ । अछामकी रमा आन्टीले फोनमा कुरा गरेको सुनेरै मैले मेरैतिरको मान्छे भन्ने ठानेको थिएँ । र त ‘घर काँ हो’ भनेर सोधेँ मैले ।
‘अछाम, तम्रो काँ हो त ?’
‘आग्र’
पूर्व अछामका मान्छेलाई आग्र भनेपछि दैलेख भनिरहनु पर्दैन । तोलीपाटा, तिलेपाटा, आग्र, पाँचालासँग पूर्वी अछामको अलग्गै नाता छ ।
कर्णाली नदीले सिमाना छुट्याए पनि रीतिरिवाज, भाषा र संस्कृति प्रायः मिलेको छ ।
त्यति मात्र होइन, आग्रका चेली अछाम र अछामका चेली आग्र पनि छन् । भनेको बिहेबारी पनि चल्छ ।
हालको आठबिस नगरपालिका अछामसँग सिमाना जोडिएको नगरपालिका नै हो । तोलीपाटा आग्र र पाँचालामा त्यसैको बाछिटा आएको भन्न मिल्छ र त बिहेबारी चलेको छ ।
‘आग्र को पर्नु भयो’ रमा आन्टीको प्रश्न थियो ।
‘थापा’ मैले थर बताएँ ।
‘हाम्री दिज्यू पनि आग्रै बिहे गरेर गैस्या छ, फलाना मेरा भिनाजु’, रमा आन्टीले नाता लगाउन थाल्नुभो ।
‘मैले आन्टी भन्नुपर्छ’ गाउँमा म नातामा सबै भन्दा कान्छो पर्छु ।
आन्टीकी बहिनीलाई मैले आन्टी नै भन्नुपर्ने भयो, रमा आन्टीसँग राम्रो परिचय भयो ।
रमा आन्टी पनि आग्र धरै पटक आउनुभएको रहेछ । मैले थापागाउँ र कोलार गर्दा बाटोमा पर्ने भिजानुको घरको आँगनबाट रमा आन्टीले धेरै पटक देखेको व्यक्ति भएँ म ।
चिनजान गरेपछि रमा आन्टीको पालो आयो । उहाँकै पछि मेरो पनि थियो । हामी दुवैले भिडियो एक्सरे गरायौँ ।
बाहिर निस्केपछि मामा (रमा आन्टीका भाइ) आउदै हुनुहन्थ्यो । मैले पारि जाम्, केही खाउँला भने ।
रमा आन्टी तर्सिनुभो । ‘नाइँ पारि त नजाने, हजुरका अंकलले रत्नपार्कमा उभिनुहुँदैन भन्स्या छ । भाइ लिन आउँदै छ, यहीँ (वीर अस्पताल) बसौँ । भाइ आइपुग्ने बेला भयो ।’
रमा आन्टीले भिडियो एक्सरे गर्ने ठाउँमा कुरा गरिरहेको सुनेको याद आयो । विदेशमा बसेका व्यक्तिलाई वीर अस्पतालमा उपचारका लागि पुगेकी पत्नी रत्नपार्कमा उभिइहाल्छिन् कि भन्ने पिर छ । र त फोनमै भए पनि सम्झाइरहेका छन् ।
रमा आन्टी तर्सेको देखेपछि मलाई काठमाडौँ आएका केही अग्रजहरूले रत्नपार्कबारे बोलेको कुरा एकपछि अर्को गर्दै स्मरणरमा आउन थाले ।
‘ठाउँ न ठहर, पत्नीको रहर’ हुनेहरूका लागि रत्नपार्क गजबको ठाउँ हो रे’, सानो हुँदा अंकलबाट सुनेको यो वाक्य याद आयो ।
हुन त हाम्राबाट पढ्नका लागि बाहेक काठमाडौँ प्रायः कम व्यक्ति आएको पाइन्छ । अंकलहरू पनि पढ्न आएको बेला जाने गरेको ठाउँ भएर रत्नपार्कका बारेमा हामीलाई कथा जस्तै लाग्ने कुरा सुनाउनुहुन्थ्यो । त्यसबेलाको ५०० रुपैयाँ खर्च गरेपछि पत्नीबाट प्राप्त हुने ‘माया’ सबै पाइन्छ ।
मामा आएपछि रमा आन्टी जानुभो । मामा त आग्र आएका बेला सँगै बाख्रा चराउन गएको मान्छे हुनुहुँदोरहेछ । सहजै चिनियो ।
गाउँमा सबैको प्यारो भएका कारण उनीहरूका आफन्तले पनि अलि सजिलै चिन्ने गर्छन् मलाई ।
मामा टोखा बस्नुहुँदो रहेछ । म मैतीदेवी बस्थेँ । मामाले टोखा जान आग्रह गर्नुभएको थियो । मैले मानिनँ । मलाई मैले सुनेको रत्नपार्कसँग साक्षात्कार गर्नु थियो ।
रमा आन्टी र मामा हिँडेपछि म जमिनमुनिको पुलको बाटो हुँदै पारि गएँ । ठुलो पिपलको रूख सेरोफेरोमा पुग्दा अलि रमाइलो पनि लाग्यो ।
उनीहरूको बार्गेनिङ मिल्यो क्यारे । उनीहरू त्यहाँबाट हिडेँ । त्यो बेलामा काठमाडौँका बारेमा मलाई धेरै थाहा थिएन । कहीँ केटीको कोठामा नै जाने र रातभरि बस्ने निर्णय भएको थियो ।
मैतीदेवी बस्ने मान्छे हिँडेर जान सकिहालिन्छ । आज केही समय यहीँ बिताउनुपर्छ भन्ने लाग्यो ।
रेडियोमा काम गर्ने भएकाले मलाई पत्रकारिताको चेत पसिसकेको थियो । मैले सूचनाका लागि भए पनि केही समय त्यही ठाउँमा बिताउने तयारी गरेँ । नजिकैको पसलमा पसेर समोसा तरकारी मगाएँ । म एक कुनामा गएर बसेँ ।
म बसेकै कुनाको टेबलको अर्कातर्फको बेच्नमा एक जोडी आए । केटा मान्छे युवा नै थिए । केटी मान्छे भने अलि पाको उमेरको । म रत्नपार्कमा छु भन्ने बिर्सेको रहेछु । उनीहरूको कुरा अलि अस्वाभाविक लाग्यो ।
केही समयपछि आफैँलाई सम्झाएँ । यहाँ यस्तै कुराको बार्गेनिङ हुन्छ । अनि टाउको निहुराएर उनीहरूको गफ सुनेँ ।
त्यहाँ बार्गेनिङ मिलेन क्यार । एकैछिनमा अलग भए ।
मेरो समोसा अझै आएको छैन । तात्तातो भनेको बनाउँदै छन् । म कुरेरै बसेको छु ।
एकछिनपछि अर्को जोडी आयो । केटा पहिला आएकै व्यक्ति हुन् । केटी मान्छे भने फरक छन् । अहिले उस्तै उमेरका केटाकेटीको उपस्थिति छ ।
उनीहरूको पनि बार्गेनिङ हुन थाल्यो । के कस्ता सेवा सुविधा दिने र कति लिने भन्ने विषयमा छलफल भएको थियो ।
गाउँबाट आएको मलाई उनीहरूको मुखबाट निस्किएका शब्द सुन्न सक्ने खालका थिएनन् ।
त्यहाँ समोसा बेचेर बसेका ती साहुजीको जीवनमा के बितेको होला ? वेटरको काम गरिरहेका कलिला केटाहरूको दिमागमा ती विषयको प्रवेश कसरी हुन्छ होला ? अथवा उनीहरू बानी परिसकेका होलान् र केही फरक पर्दैन होला ? मनले गन्थन गर्दै थियो ।
उनीहरूको बार्गेनिङ मिल्यो क्यारे । उनीहरू त्यहाँबाट हिडेँ । त्यो बेलामा काठमाडौँका बारेमा मलाई धेरै थाहा थिएन । कहीँ केटीको कोठामा नै जाने र रातभरि बस्ने निर्णय भएको थियो ।
मैले सोचेँ– हो त, यहाँ त पैसा भएपछि पत्नीले दिने सम्पूर्ण ‘माया’ पाइँदो रहेछ । बल्ल मलाई अग्रजहरूले भनेको र सुनाएको रत्नपार्क उस्तै लाग्न थाल्यो ।
रत्नपार्कमा उभिनेलाई पनि जाने हो ? कतिमा लाने हो ? भन्ने प्रश्नहरू अरूको कानमा पनि पथ्र्यो ।
गाडी कुरेर बसेकाहरू रत्नपार्कको फुटपाथको रोडसाइडमा उभिएका हुन्छन््, र अन्य सेवाका लागि बसेकाहरू घेराबारमा ।
प्रहरीले घेराबारमा बसेकाहरूलाई लखेट्छ, केही समयपछि उनीहरू पुनः त्यहाँ पुग्छन् र प्रहरीलाई गाली गर्छन् ।
‘नयाँ आएको होला, फूर्ती लाउँछ ! यसलाई पनि चाहिएको होला, केही दिनमा लाइनमा आउँछ ।’ घेरबार तर्फ बसेकी एउटी महिलाले अर्कीसँग कुरा गर्दै थिइन् ।
प्रहरी पनि नयाँ–नयाँ आउँदा मात्र बार्गेनिङ गर्दा रहेछन्, तरिका फरक । पाइन्छ भने ओके, नपाइने भए लखेट्ने ।
रत्नपार्कको फुटपाथको उभिने साइडले फरक छुट्याउनुपर्ने रहेछ । अग्रजहरूले सुनाएको यही सूत्र प्रयोग गरेर म रोडतर्फ उभिएँ । त्यहाँ उभिएपछि धेरै कुरा सुन्न थालियो । र, लाग्यो– रत्नपार्क त्यत्तिकै बद्नाम भएको रहेनछ ।
रत्नपार्कमा पहिलो पटक उभिएको पनि डेढ दशक भइसक्यो । काठमाडौँमा रहेर रिपोर्टिङको क्रममा रत्नपार्कसँग पुनः साक्षात्कार भयो ।
पहिलेको र अहिलेको रत्नपार्कमा– नाम र भित्र छिर्ने ठाउँमा राखिएको शालिक मात्र परिवर्तन भएको रहेछ ।
नाम शंखधर उद्यान, रानी रत्नको शालिक राखिएको ठाउँमा अर्को शालिक ।
बाहिरीतर्फको घेराबारमा अहिले पनि त्यस्ता पसलहरू थुप्रै छन् । फुटपाथ राख्न काठमाडौँ महानगरले दिएको छैन । तर, उभिएर हुने मोलतोलका ‘पसले’सँग भने महानगर पनि भिड्न नसकेको देखिन्छ ।
महानगरले पार्कभित्र प्रवेशका लागि शुल्क तोकेको छ । गेटमा गार्डसहित कर्मचारीहरू रहन्छन् ।
तर, बाहिरबाट आएको कोही पनि निर्धक्कसँग रत्नपार्कभित्र प्रवेश गर्ने र बस्न आँट गर्दैन ।
कहानी नसुनेका एकाधबाहेकले रत्नपार्कमा उभिँदा पनि फरक दृष्टिकोणले हेर्ने गरेको पाइन्छ ।
नाम फेरेर मात्र पर्यटकीय क्षेत्र हुँदैन । नगरपालिकाले नामसँग त्यहाँ हुने अवैध कारोबार पनि हटाउन जरुरी छ ।
जसरी रानी रत्नले केटाकेटी (बालबालिका) का लागि भनेर पार्कको परिकल्पना गरेकी हुन्, त्यहीअनुसार काठमाडौँको मुटु र वीर अस्पतालको छेउमा रहेको रत्नपार्कमा हरेक व्यक्तिले सगौरव जान र बस्न पाऊन् ।