नेभिगेशन
समाज विविध

सिंहे डाँडामा खानेपानी पुग्यो, स्थानीय भन्छन्– पानी खान नपाएर मरिन्छ कि भन्ने त्रासबाट मुक्ति मिलेको छ

वीरगन्ज– वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका पर्साको ठोरी गाउँपालिका १ सिंहे डाँडामा खानेपानी पुगेपछि स्थानीय खुसी भएका छन् । ठोरी गाउँपालिकाले कूल रु सात लाखको लागतमा इनार निर्माण गरी ट्यांकीमा पानी झारेपछि सिंहे डाँडा, तीनघरे होमस्टे र वरपीपल टोलका स्थानीय खानेपानीको समस्याबाट मुक्त भएका हुन् । गाउँपालिकाले इनारमा पानी तान्ने मोटर लगाई ट्यांकीमा पानी झारेपछि त्यस गाँउका स्थानीयले पानीलाई भोग्नुपरेको समस्याबाट छुटकारा पाएको बताएका छन् । 

‘हामी लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थियौँ,’ स्थानीयवासी दिलबहादुर कुँवरले भने, ‘खानेपानीको ट्यांकीमा पानी आएपछि सधैँलाई समस्या समाधान भएको छ ।’ खानेपानी अभावका कारण बस्ती नै विस्थापित हुने अवस्थामा पुगेको उनको भनाइ थियो । कुँवरका अनुसार पहिला यहाँ १८ घरपरिवारको बसोबास थियो, तर खानेपानीकै अभावले केही वर्षअघि नौ घर परिवार त्यहाँबाट विस्थापित भए ।

‘खानेपानी नपाएर हामी पनि यहाँबाट विस्थापित हुने अवस्थामा पुगेका थियौँ । तर अब पानी खान नपाएर मरिन्छ कि भन्ने त्रासबाट मुक्ति मिलेको छ,’ खानेपानीका लागि लामो समयसम्म संघर्ष गरेका उनले भने, ‘घर अगाडिको पानी ट्यांकीमा पूजा गरे, धारामा पानी झरेपछि टुटी खोलेर गाग्रीमा पानी थापेपछि असाध्यै खुसीको अनुभूति भएको छ । अहिले जीवन नै फेरिएको जस्तो महसुस भइरहेको छ ।’ 

पानीको लागि संघर्ष गरेका स्थानीयको समस्यालाई मध्यनजर गरी इनारबाट ट्यांकीमा पानी ल्याउन सफल भएको ठोरी गाउँपालिकाका उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले बताइन् । ‘इनारबाट मोटरले पानी तान्न सक्दैन् कि भने चिन्ता थियो,’ उनले भनिन्, ‘तर इनारबाट ट्यांकीमा पानी ल्याउन सफल भएका छौँ, अब खानेपानीकै कारण बस्ती विस्थापन हुन्छ कि भन्ने अवस्था फेरिएको छ,’ निर्वाचित भएदेखि नै सो बस्तीमा पानी पुर्याउने आफ्नो चाहना थियो र त्यो सफल भएपछि सुखीको अनुभूति भइरहेको उपाध्यक्ष रेग्मीको भनाइ छ । 

सो क्षेत्रका जनतालाई खानेपानी, स्वास्थ्य र शिक्षालगायतका सबै सुविधा पुर्याउने योजनाका साथ अघि बढेको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । सिंहे डाँडा, तीनघरे होमस्टेलगायतको त्यस क्षेत्रलाई एउटा सुन्दर पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने ठोरी गाउँपालिकाको योजना रहेको अध्यक्ष जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा