नेभिगेशन
समाज विविध

हात्तीको आक्रमणबाट मानिसकाे मृत्यु भएपछि मदन भण्डारी राजमार्गको सिन्धुली खण्ड अवरुद्ध

त्रिशूली– मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बिहानदेखि अवरुद्ध भएको छ । कमलामाई नगरपालिका–१३ रानीबासमा स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् ।

आज बिहान जङ्गली हात्तीको आक्रमणबाट घरमै सुतिरहेका ४० वर्षीय दण्डपाणि पौडेलको मृत्युको विषयलाई लिएर पीडित पक्ष र स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग अवरुद्धका कारण सवारी आवागमन बन्द भएको छ । गन्तव्यतर्फ गुडेका सवारी साधनहरू रानीबासमा दुईतर्फ रोकिएका छन् ।

स्थानीयवासीले विभिन्न मागसहित राजमार्गमा बसेर सवारी आवागमन अवरुद्ध पारेको स्थानीय वृहस्पति पौडेलले जानकारी दिए । बिहान ९ बजेदेखि राजमार्ग बन्द गरिएको र जायज माग पूरा नहुन्जेलसम्म राजमार्ग अवरुद्ध रहने उनको भनाइ छ । स्थानीय बासिन्दाका मागलाई स्थानीय प्रशासनले लामो समयदेखि उचित सम्बोधन नगरेका कारण हात्तीको आक्रमणबाट मानिसको मृत्यु भएपछि सथानीय आक्रोशित भएका छन् । मानिसको अकालमै मृत्यु भएपछि स्थानीयवासीले आफ्नो सुरक्षाको माग गर्दै आन्दोलन गर्न बाध्य भएको उनको भनाइ रहेको छ ।

उनले भने, ‘जङ्गली हात्ती आतङ्कबाट मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्ति, मृतकले संरक्षण गरेको संरक्षित परिवारलाई राज्यले संरक्षण गर्नुपर्ने, जङ्गली हात्तीका कारण सम्पत्ति क्षति भएका परिवारलाई क्षतिपूर्ति र जङ्गली हात्तीको व्यवस्थापन गर्नुपर्ने हाम्रा माग रहेका छन् ।’

अवरुद्ध राजमार्ग सञ्चालन गर्ने सवालमा छलफलको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । स्थानीयवासीको मागका सवालमा छलफल गरी अवरुद्ध राजमार्ग पुनः सञ्चालन गरी अलपत्र परेका यात्रुलाई गन्तव्यतर्फ पुर्‍याउने सवालमा पहल भइरहेको उनले बताए ।

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारले मृतकको शव बुझेका छैनन् । मृतकको सिन्धुली अस्पतालमा शवपरीक्षण गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता