Nic Ad Nic Ad
Nic Ad Nic Ad

को हुन् राष्ट्रपतिका उम्मेदवार पौडेल र नेम्वाङ?

शनिबार, फागुन १३, २०७९

काठमाडौं –फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । 

राष्ट्रपति पदको चौथो निर्वाचनमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार बनेका छन् । पौडेललाई माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाको समथैन छ । यस्तै अर्का उम्मेदवार नेम्वाङलाई अहिलेसम्म आफ्नै पार्टी एमालेको साथ छ । उनलाई कुन कुन पार्टीले समर्थन गर्ने स्पष्ट भइसकेको छैन ।

पौडेलको पृष्ठभूमि

पुराना राजनीतिज्ञको रूपमा परिचित पौडेल प्रतिनिधिसभाको सभामुख, उपप्रधानमन्त्री लगायत विभिन्न मन्त्रालयको मन्त्री भएर काम गरिसकेका छन् । 

बीपी कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भई राजनीतितर्फ आकर्षित भएका ६३ वर्षीय पौडेलको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि नै सुरु भएको हो । पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण उनी पटक–पटक गरी १३ वर्ष जेल परेका छन् ।

प्रतिगमनविरोधी आन्दोलनमा अग्रपङ्क्तिमा रहेका पौडेल पछिल्लो पटक एक वर्षसम्म नजरबन्दमा परेका थिए ।

२०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापछि ०४८ को निर्वाचनमा पहिलो पटक सांसद बनेका छन् ।

तनहुँ –१ बाट विजयी बनेका पौडेल २०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने । २०५१ सालको मध्यावधि चुनावमा तनहुँ –२ बाट सांसद निर्वाचित भए । २०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भए । ५ वर्ष सभामुख बनेका उनी २०५६ सालमा तनहुँ –२ बाट तेस्रो पटक सांसदमा निर्वाचित भए ।

उनी २०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्री बने । २०६२ सालमा कांग्रेस महामन्त्री बनेका पौडेलले माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति सचिवालयको संयोजक भएर काम गरेका छन् । २०६३ सालमा उनी शान्ति तथा पुनर्निर्माण मन्त्री भए । २०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए । सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ –२ बाट चौथोपटक निर्वाचित भए । २०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए ।

उनी प्रधानमन्त्री पदमा १७ पटकसम्म पराजय भएको इतिहास छ । २०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको निर्वाचनमा उनले १७ पटक पराजय भोगेका थिए । २०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा पौडेल तनहुँ –२ बाट पाँचौं पटक निर्वाचित भए । २०७४ सालको निर्वाचनमा पराजित बनेका पौडेल २०७९ मा भने विजयी बने । 

को हुन नेम्वाङ?

इलाम जिल्लाको सुन्तलाबारीमा जन्मिएका नेम्वाङले कानुनमा स्नातक (बीएल) गरेका छन् । संविधानसभा अध्यक्ष नेम्वाङ यसअघिको व्यवस्थापिका संसदमा पनि सभामुख थिए । 

२०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बनेका उनी त्यस लगत्तै पुनः राष्ट्रियसभा सदस्य भए ।

२०५६ को संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत रहिसकेका छन् । 

कानुन व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न रहिसकेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी सम्हालिसकेका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका नेम्वाङ २०२९ सालमा अनेरास्ववियुको अध्यक्ष थिए ।

नेम्वाङ २०६३ मा पुनस्र्थापित प्रतिनितिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा  संविधानसभा अध्यक्ष÷सभामुख र २०७२ सालमा सभामुख भएका थिए । 

प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम –२ बाट निर्वाचित उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २– बाट निर्वाचित नेम्वाङ्ग कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए । 

उनी गत मंसिरमा सम्पन्न निर्वाचनमा पनि इलाम –२ बाट निर्वाचित भएका हुन् ।
 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १४:५३
प्रतिक्रिया दिनुहोस्