राष्ट्रपतिमा २ जनाको उम्मेदवारी, कसको पक्षमा कति मतभार ?
काठमाडौँ –२५ फागुनमा तय भएको राष्ट्रपति निर्वाचनका लागि २ पूर्वसभामुखहरू भिड्ने भएका छन् । राष्टपति पदका लागि उम्मेदवारी मनोनयनका दर्ताको लागि तोकिएको समयसीमा शनिबार दिउँसो ३ बजेसम्म २ जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ ।
राष्ट्रपतिका लागि शीर्ष २ दल नेपाली कांग्रेस र नेकपा एमालेले मात्रै उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनीहरु सांसद्का साथै पूर्वसभामुख पनि भइसकेका हुन् ।
पौडेललाई माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायत ८ दलको साथ रहँदा नेम्वाङलाई हालसम्म एमालेबाहेकका दलहरुले समर्थन गर्ने निर्णय गरेका छैनन् ।
राष्ट्रपतिको निर्वाचनमा संविधानअनुसार सङ्घीय र प्रदेशसभातर्फका तत्काल कायम रहेका कुल सदस्य सङ्ख्याको बहुमत अर्थात् ५० प्रतिशत मत ल्याउने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ ।
यदि पहिलो निर्वाचनमा कसैले ५० प्रतिशत मत नल्याए सबैभन्दा बढी मत प्राप्त गर्ने २ उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुन्छ र बहुमत ल्याउने व्यक्ति राष्ट्रपति बन्ने व्यवस्था छ ।
दोस्रो निर्वाचनमा पनि ५० प्रतिशत कसैले ल्याउन नसकेमा पुनः मतदान हुनेछ र त्यसमा जसले कुल सदर मतको सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति हुनेछ ।
राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबार अन्तिम मतदाता नामावली पनि प्रकाशन गरेको छ । मतदाता नामावलीमा ३३२ संघीय सांसद् र ५५० प्रदेश सांसद छन् ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ अनुसार संघीय सांसद्को प्रतिसांसद् ७९ मतभार तोकेको छ भने प्रतिप्रदेश सांसद्को ४८ मतभार तोकेको छ । जसअनुसार संघीय सांसद्को मतभार २६ हजार २२८ रहँदा प्रदेशसभा सांसद्को मतभार २६ हजार ४०० रहेको छ । यसरी जम्मै मतभार ५२ हजार ६२८ रहन्छ ।
राष्ट्रपतिमा निर्वाचित हुनका लागि जम्मा मतभार ५२ हजार ६२८ को ५० प्रतिशत अर्थात २६ हजार ३४० मतभार कम्तिमा ल्याउनुपर्ने देखिन्छ ।
जसका लागि एमालेलाई संकट पर्न सक्छ भने कांग्रेसलाई सहज हुने वातावरण देखिएको छ । राष्ट्रपतिमा ८ दलबाट मनोनयन दर्ता गराएका पौडेललाई एमाले र राप्रपाबाहेक अन्य दलले सहयोग गर्ने भएका छन् ।
यसरी पौडेललाई सहयोग गर्दा नेपाली कांग्रेससँग १५ हजार ३५२, माओवादी केन्द्रसँग ६ हजार २७२, एकीकृत समाजवादीसँग १ हजार ९४२ मतभार रहेको छ ।
यस्तै, जनता समाजवादी पार्टीसँग १ हजार ९०८, लोकतान्त्रिक समाजवादी पार्टीसँग ८९२, जनमत पार्टीसँग १ हजार १९४, नागरिक उन्मुक्तिसँग ८१३ , नेपाल समाजवादी पार्टीसँग २५४ र राष्ट्रिय जनमोर्चासँग १२७ मतभार रहेको छ ।
त्यस्तै एमालेसँग १३ हजार ४४४ मतभार रहँदा एमालेलाई साथ दिने बताइएको राप्रपासँग २ हजार ३०६ मतभार रहेको छ ।
यसरी मतभार जोड्दा ८ दलीय गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार पौडेलको पक्षमा २८ हजार ७५४ मतभार देखिँदा एमालेका नेम्वाङको पक्षमा १५ हजार ७५० मतभार देखिन्छ ।