बागमती प्रदेश सरकारबाट राप्रपा बाहिरियो
हेटौँडा–बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ ।
खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले आज साँझ ८ः०० मा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष उनको निवासमा संयुक्तरूपमा राजीनामा बुझाएका हुन् ।
उनले पार्टीको निर्णयानुसार भन्दै राजीनामा दिइएको बताए ।
मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले पनि राजीनामा दिएका छन् ।
आजैमात्र राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संघ र प्रदेश दुवै सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको थियो ।
राप्रपाको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसहितका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । अध्यक्ष लिङ्देनसहित सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यालयमा गएर मन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।
सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तनपछि देश पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ ।