विद्यालय बन्द गरेर शिक्षक भारत भ्रमणमा
रूपन्देही–रूपन्देहीको कोटहीमाई गाउँँपालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ ।
वार्षिक परीक्षा २०७९ मुखैमा पुगेको बेला शिक्षकहरू विद्यालयमा पढाउनुभन्दा आन्तरिक समझदारीमा भारतको उत्तराखण्ड भ्रमणतिर लागेका हुन् । कक्षा १ देखि १२ सम्मका पठनपाठन पूर्णरूपले ठप्प पारेर शुक्रबार १२ गतेदेखि १७ गतेसम्मका लागि भ्रमणमा निस्केको कोटहीमाई गाउँपालिकास्थित सो विद्यालयको भ्रमण टोली शनिबार भारतको हरिद्वार पुगेको सामाजिक सञ्जाल फेसबुकमार्फत देखिएको छ ।
आगामी चैत ५ गतेदेखि कक्षा एकदेखि कक्षा सात र कक्षा नौको परीक्षा सञ्चालन हुने सूचना छ । कक्षा आठको परीक्षा चैत ६ गतेदेखि सञ्चालन हुने निश्चित छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १० को एसईई परीक्षा पनि चैत १७ गतेदेखि सञ्चालन हुनेछ ।
फागुन १४ देखि १७ गतेसम्म भारतको उत्तराखण्ड भ्रमणमा जान लागेको भन्दै बिदाको जानकारीसहित सो विद्यालयले गाउँपालिकालाई एक पत्र पठाए पनि १२ गते शुक्रबारदेखि नै विद्यालय ठप्प बनाई व्यवस्थापन समितिसहित शिक्षक कर्मचारी यात्रामा निस्किएका हुन् ।
विद्यालय बन्द भएकाले परीक्षाको तयारीमा बाधा पुगेको सोही विद्यालय कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले बताए ।
वार्षिक परीक्षा मुखैमा पुगेको बेला शिक्षक–कर्मचारी र विद्यालय व्यवस्थापन समितिले विद्यालय बन्द गरी अक्षम्य गल्ती गरेको आक्रोश पोख्दै अभिभावक पारस यादवले भने, ‘सरोकारवाला निकायले तत्काल कारबाही गरी उचित क्षतिपूर्ति भराउने व्यवस्था हुनुपर्छ ।’
प्रधानाध्यापकलाई कारबाही गरी विद्यालय व्यवस्थापन समितिसँग स्पष्टीकरण माग्न र कारबाही गर्न आग्रह गर्दै यादवले भने, ‘यस्तो गल्तीप्रति गाउँपालिका शिक्षा शाखा पनि उत्तिकै जिम्मेवार छ ।’
यसबारे गाउँपालिकास्थित शिक्षा शाखा प्रमुखसित सम्पर्क हुन नसके पनि कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले विद्यालय बन्दबारे आफूलाई कुनै जानकारी नभएको बताए ।
कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले यसबारे आफूलाई कुनै लिखित जानकारी नभएको बताए ।
आफ्नो अनुरोधप्रति वास्ता नगरी मनपरी ढङ्गले सबै भारत भ्रमणमा गएको जानकारी पाएको उनले बताए ।