Nic Ad Nic Ad
Nic Ad Nic Ad

अलैँची बेचेर किसानले कमाए २० करोड

आइतबार, फागुन १४, २०७९

लमजुङ –अलैँची दाना बिक्रीबाट किसानले २० करोड रुपैयाँ आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा ३८० मेट्रिक टन अलैँची बिक्री भएको थियो ।
२०४१ सालदेखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट सो रकम आम्दानी भएको हो । यस वर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा ५५० देखि ७०० रुपैयाँसम्ममा र गत वर्ष ९५० देखि १ हजार ५०० रुपैयाँ बढी मूल्यमा बिक्री गरेका थिए ।
यसअघि उनीहरूले सबैभन्दा बढी २०७७ सालमा ३ हजार ५०० क्विन्टल अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख रुपैयाँ आम्दानी गरेका थिए ।
कार्यालयका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार गत वर्ष किसानले ३३५ मेट्रिक टन अलैँची बिक्रीबाट १५ करोड रुपैयाँ आम्दानी गरेका थिए ।
२०७६ मा जिल्लामा २ हजार क्विन्टल अलैँची बिक्री गरेर कृषकले १२ करोड रुपैयाँ आम्दानी गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष जिल्लाका अधिकांश किसानको अलैँची उत्पादनमा वृद्धि भएको बताइएको छ । मस्र्याङ्दी गाउँपालिका–५ सन्जापुका आशबहादुर गुरुङले पनि गत वर्षभन्दा यस वर्ष दोब्बर अलैँची उत्पादन गर्दै बिक्री भएको बताए ।
१० रोपनी क्षेत्रफलमा लगाएको अलैँची खेतीबाट यस वर्ष ७ क्विन्टल ९४ किलो उत्पादन भएको उनको भनाइ छ । उनले यसपटक करिब ५ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिए ।
गत वर्ष जम्मा ३ क्विन्टल ८० किलो बिक्रीबाट झण्डै ४ लाख रुपैयाँ प्राप्त भएको उनको भनाइ छ । उनले भने, ‘२०७३ सालमा सबैभन्दा बढी प्रतिकिलो २ हजार रुपैयाँसम्मसमेत बिक्री गरेको थिएँ ।’ सो गाउँका ९५ घरधुरीमध्ये ८५ घरधुरीले धेरै–थोरै अलैँची खेती गरेका छन् भने गत वर्ष ४÷५ किलो उत्पादन गर्ने किसानले यस वर्ष १५–२० भन्दा बढी उत्पादन गरेर बिक्री गरेका छन् ।
सन्जापुका किसानले गाउँमा गत वर्ष ६० क्विन्टल बिक्री गरेकामा यस वर्ष ११३ क्विन्टल बिक्री गरेका छन् । अलैँची किसान गुरुङले भने, ‘बर्सेनि मूल्य घटबढ त भइहाल्छ तर यसरी मूल्य घट्दा नराम्रो लाग्छ । तलबाटै साहुहरूले मूल्य दिन सक्दैनौँ भन्छन् । बाध्यता छ, यहाँ राखेर मात्र काम छैन, पैसा चाहिन्छ । राखेर पनि पछि उनीहरुलाई नै बिक्री गर्नुपर्छ, बजार व्यवस्थापन पनि भएन ।’
मूल्य घटे पनि नोक्सान भने नभएको र यसरी उत्पादन बढ्दा धेरै अलैँची खेती गरौँजस्तो लागेको उनले सुनाए । किसानका अनुसार अलैँचीका मूल्यमा समस्या छ, तर बिक्रीमा समस्या छैन ।
जिल्लाका किसानले कुनै बेला प्रतिकिलो २ हजार २०० रुपैयाँसम्म अलैँची दाना बिक्रीबाट लिने गरेका थिए । तर त्यसयता सो रकमको तुलनामा धेरै न्यून मूल्यमा बिक्री गर्दै आएका छन् ।
जिल्लामा उत्पादित अलैँची को माग उच्च रहँदै आएको छ । भारतको एकाधिकारका कारण कृषकको मागअनुसार अलैँची दानाको मूल्य नपाएको कृषक बताउँछन् ।
जिल्लामा १ हजार हेक्टर क्षेत्रफल जमिनभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आए पनि ५ सय हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन हुँदै आएको बताइएको छ ।
परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथर, दोर्दी र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । त्यस क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ ।
७०० मिटरदेखि १ हजार २ सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र १ हजार २ सयदेखि १ हजार ६०० मिटर उचाइमा गोलशाही र त्यसदेखि २ हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ०९:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार