Nic Ad Nic Ad
Nic Ad Nic Ad

शैक्षिक अवस्था सुधार्न जाजरकोटमा भौतिक संरचना निर्माण तीव्र

आइतबार, फागुन १४, २०७९

जाजरकोट –जाजरकोट कुशे गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्नका लागि यहाँ भौतिक संरचना निर्माणमा तीव्रता दिएको छ । खानेपानी, शौचालय र विद्यालय भवन निर्माण गरी विद्यार्थीहरू पढ्ने वातावरण सिर्जना गरिएको हो ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, पहाडी क्षेत्र विकास अभियानको सहयात्रा दोस्रो परियोजना र गाउँपालिकाको संयुक्त सहकार्यमा संरचना निर्माण गरिएको हो । बालबालिकाहरूलाई सुरक्षित वातावरणमा गुणस्तरीय शिक्षा दिनका लागि भौतिक संरचना निर्माणमा जोड दिई निर्माण गरिएको अभियानका वरिष्ठ कार्यक्रम संयोजक रत्नबहादुर डाँगीले जानकारी दिए । 

सन् २०१९ बाट सुरु भएको परियोजनाले सन् २०२२ सम्मा नयाँ ५ वटा विद्यालयका भवन निर्माण गरेको उनले जानकारी दिए । निर्माण भएका विद्यालयहरूमा वडा ३ मा २ वटा, वडा ५ मा १ वटा र वडा ६ मा २ वटा रहेका छन् भने १७ वटा विद्यालय मर्मत गरी पढ्न योग्य बनाइएको अभियानका शिक्षा संयोजक अरुण पाठकले जानकारी दिए ।

यसैगरी, पालिका भित्र व्यवस्थित, सुरक्षित र बालमैत्री शौचालय १७ वटा निर्माण गरिएको छ भने त्यस्तै विद्यालयमा बालमैत्री धाराहरू समेत निर्माण गरिएको छ । पाठकका अनुसार २० वटा बालमैत्री धारा निर्माण गरिएको छ । 

विद्यालयको भित्री भाग मर्मत तथा व्यवस्थापन समेत गरिएको छ । विद्यार्थी बस्न योग्य बनाउनका लागि मर्मत तथा भित्री भाग व्यवस्थापनका लागि ६ वटा विद्यालयमा काम गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्