Nic Ad Nic Ad
Nic Ad Nic Ad

महिला ओलम्पिक फुटबल एसियन छनोट नेपालमै हुने

आइतबार, फागुन १४, २०७९

काठमाडौँ –पेरिस ओलम्पिक–२०२४ का लागि हुने महिला ओलम्पिक फुटबल एसियन छनोटको प्रारम्भिक चरणका खेलहरू नेपालमै हुने भएको छ । 

छनोटको प्रारम्भिक चरणको समूह ‘सी’ मा रहेको नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान छन् । 

यसअघि समूह ‘सी’ का खेलहरू प्यालेस्टाइनमा हुने तय भएको थियो । तर, प्यालेस्टाइनले आयोजकबाट आफ्नो नाम फिर्ता लिएपछि एएफसीले यो समूहको छनोट खेलहरू आयोजनाको जिम्मा नेपाललाई सुम्पिएको हो ।

छनोटको पहिलो चरणका खेलहरू चैत २० गतेदेखि २८ गतेसम्म हुनेछन् । समूहको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउनेछ । छनोटको दोस्रो चरणमा उत्तर कोरिया, दक्षिण कोरिया, जापान, चीन र अस्ट्रेलियाले यसअघि नै स्थान बनाइसकेका छन् । 

दोस्रो चरणमा प्रवेश गर्ने टिमलाई ३ समूहमा विभाजन गरिनेछ । दोस्रो चरणबाट पनि समूह विजेता र एक उत्कृष्ट समूह उप–विजेता तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणबाट शीर्ष २ टिमले पेरिस ओलम्पिकमा स्थान बनाउनेछन् ।

ओलम्पिक छनोटको तयारीका लागि यसअघि नेपालले भारतसँग २ मैत्रीपूर्ण फुटबल खेलेको थियो । भारतविरुद्धको पहिलो खेलमा नेपालले २–२ को बराबरी खेल्दा दोस्रो खेलमा घरेलु टिमलाई गोलरहित बराबरीमा रोकेको थियो ।
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार