Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं : प्रधानमन्त्री दाहाल

आइतबार, फागुन १४, २०७९

काठमाडौँ –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्र्रियामा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले भने, ‘आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । २००७ को क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका सहिद हाम्रा राष्ट्रिय गौरव हुन्, उनीहरूको उच्च सम्मान गर्नुपर्छ । त्यसैले वर्तमान सरकार जनयुद्धलगायत सबै आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा छ ।’ सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सम्पन्न गरिने बताए । 

अन्तक्र्रियामा सहिद तथा बेपत्ता परिवारका तर्फबाट अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले देशभरका सहिद र बेपत्ता परिवारलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरे ।

नेकपा (माओवादी केन्द्र)ले आइतबारदेखि फागुन २१ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी सहिद सप्ताह मनाउने तयारी गरेको छ । 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्