शिक्षकले पाएनन् पारिश्रमिक
गुल्मी– गुल्मीको कालीगण्डकी गाउँपालिकाका ३१ शिक्षकले कात्तिक महिनादेखि तलब पाउन सकेका छैनन् ।
आन्तरिक स्रोतमार्फत गाउँपालिकाले तलब उपलब्ध गराउने गरी राखेका ३१ शिक्षकले कात्तिक महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् ।
गाउँपालिकाले आफैँ दरबन्दी सिर्जना गरी राखेका ती शिक्षकलाई बजेट अभावका कारण तलब खुवाउन नसकिएको त्यहाँका शिक्षा शाखाका प्रमुख अग्निधर पराजुलीले जानकारी दिए ।
कात्तिकदेखि पुस महिनासम्मको ३ महिनाको तलब उपलब्ध गराउन ३९ लाख रुपैयाँ आवश्यक पर्ने तर बजेट अभावका कारण शिक्षकलाई तलब दिन नसकिएको उनको भनाइ थियो ।
तलब नपाउनेमा बालशिक्षा कक्षादेखि माध्यमिक तहसम्मका शिक्षक रहेको प्रमुख पराजुलीले बताए ।
पालिकाको आन्तरिक स्रोत र कालीगण्डकी जलविद्युत् परियोजनाको आर्थिक सहयोगमार्फत ती शिक्षकलाई तलब उपलब्ध गराउने गरी बजेट व्यवस्था गरिएकामा परियोजनाबाट सहयोग उपलब्ध नभएका कारण तलब खुवाउन नसकिएको हो ।
कात्तिकदेखि तलब नआउँदा आफूहरूलाई दैनिक खर्च चलाउनसमेत समस्या हुँदै गएको सम्बद्ध शिक्षकको गुनासो छ ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले आर्थिक सहयोग प्राप्त नभएकाले समस्या थपिएको बताए । परियोजानबाट सहयोग नपाए शिक्षकहरूलाई ससम्मान बिदाइ गर्नेबाहेक पालिकासँग अन्य विकल्प नभएको र आफूहरूसँग स्रोत व्यवस्थापन गर्ने आधार नभएकाले उक्त सहयोग नपाए ती शिक्षकलाई भुक्तानी दिनुपर्ने रकमको अभिलेख राखी ससम्मान बिदाइ गरिने उनले उल्लेख गरे ।