Nic Ad Nic Ad
Nic Ad Nic Ad

अग्नि नियन्त्रक खटाउँदै कर्णाली सरकार

आइतबार, फागुन १४, २०७९

सुर्खेत– कर्णाली सरकारले वन डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रक खटाउने भएको छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःस्थापनाजस्ता कार्यका लागि ११२ अग्नि नियन्त्रक खटाउन लागेको हो ।

कर्णाली प्रदेश वन निर्देशनालयको आर्थिक वर्ष २०७९÷२०८० को वार्षिक कार्यक्रमअनुसार वन डढेलो नियन्त्रण दस्ता निमार्णका लागि प्रदेशका १० वटै जिल्लामा अग्नि नियन्त्रक भर्ना गरी खटाइने छ ।

उनीहरूले ९० दिनसम्म वनमा डढेलो हुनबाट जोगाउन काम गर्नेछन् ।

निर्देशनालयका अनुसार सुर्खेतमा २४, सल्यानमा १६, जुम्ला, दैलेख र जाजरकोटमा १२÷ १२, रुकुम पश्चिममा ८ साथै कालीकोट, हुम्ला, मुगु, र डोल्पामा भने ७÷७ अग्नि नियन्त्रक खटिनेछन् ।

निर्देशनालयका निर्देशक गोविन्दप्रसाद दाहालले आगलागीको जोखिम बढ्दै गएको र चैत, वैशाख तथा जेठमा आगलागीका घटना बढ्ने भएकाले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःस्थापनाजस्ता कार्यमा जोड दिइने बताए ।

उनले अग्नि नियन्त्रकलाई आवश्यक तालिम दिएर सुरक्षा सामग्रीसहित परिचालन गरिने जानकारी दिए ।

चैत, वैशाख र जेठमा कर्णालीमा वन डढेलोका घटनाले जनधनको क्षति हुन सक्ने भएकाले न्यूनीकरणका लागि अभियान समेत सञ्चालन गरिने बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १५:३८
प्रतिक्रिया दिनुहोस्