खुला टेबलटेनिस हुने
काठमाडाैँ- जिल्ला टेबलटेनिस संघको आयोजनामा १२औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता यही फागुनमा हुने भएको छ ।
यही फागुन २५ गतेदेखि हुने उक्त प्रतियोगितामा पुरुष/महिला सिंगल्स खुला, स्कुल, कलेज, भेट्रान, बहिरा, शारीरिक अपांगता भएका, दृष्टिविहीन र खेल पत्रकार गरी ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए ।
अखिल नेपाल टेबलटेनिस संघको वार्षिक कार्यक्रमअनुसार हुन लागेको उक्त प्रतियोगितामा करिब ३०० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
‘सबैका लागि टेबलटेनिस’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगिताको पुरुष/महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले जनही १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
फागुन २९ गतेसम्म चल्ने प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् ।