लिच्छविकालीन गौरव ब्युँताउने प्रयास
कीर्तिपुर– काठमाडौँको पश्चिम भेगमा रहेको किसिपिँढी गाउँले लिच्छविकालीन गौरवलाई पुर्नर्जीवन दिएको छ ।
मौलिक शैलीमा निर्माण भएका घरबास (होमस्टे)मार्फत किसिपिँढी गाउँले पर्यटन प्रवद्र्धन गरिरहेको छ । यहाँ पाइएका शिलालेख, धारा र मूर्तिले लिच्छविकालअघि नै ‘किचः प्रिचिङ’ नामका ८ मुख्य द्रन्ध (बस्ती) थिए भन्ने प्रमाणित हुन्छ ।
तीमध्ये किसिपिँढी एउटा हो । अहिले चन्द्रागिरि नगरपालिका–५ मा पर्ने ‘किचः प्रिचिङ’ले लिच्छविकालीन गौरवलाई पुनर्प्राप्ति गर्ने उद्देश्यका साथ वडाध्यक्ष राजेन्द्र महर्जन सक्रिय रूपमा लागेका छन् ।
पुराना वस्तु खोज्ने तथा बस्तीभित्र नयाँ बन्ने संरचनालाई पुरातात्विक स्वरूप झल्किने गरी निर्माण गरिने उनले बताए ।
२५० घर रहेको किसिपिँढी प्राचीन समयमा गढपर्खालले घेरिएको सुरक्षित र सम्पन्न बस्ती थियो । बस्तीतर्फ आउने बाटोमा तेर्सिएका ढुंगा त्यसका प्रमाण हुन् ।
उक्त बाटोमा पाइने ढुंगे धारा, पोखरी, मन्दिर र काठका मूर्तिले किसिपिँढी एउटा मौलिक सभ्यता भएको राज्य थियो भन्ने कुराको प्रमाण दिन्छन् ।
किसिपिँढीबारे अध्ययन गरेका रवीन्द्र रिजालका अनुसार किसिपिँढीभित्र ५ लिच्छविकालीन शिलालेख छन् । ती शिलालेखले तत्कालीन शासकले यहाँका जनतालाई जमिनको साँधसीमा, जोतभोग र कर माफी मिनाहा गरेको तथा कुवा र देवल निर्माणबारे जानकारी पाइन्छ ।
‘खासमा किचः प्रिचिङ किरातकालीन बस्ती हो । यो लिच्छविकालमा थप व्यवस्थित बनेको थियो,’ उनले भने । मल्लकालमा जात्रा र पर्वको विकास भएको हो । राणाकालअघि घोडेजात्रालाई नयाँ वर्षको रूपमा मनाउने गरिन्थ्यो ।
किसिपिँढीमा घोडेजात्राको दिन कालिका भैरवको रथयात्रा हुने रिजाल बताउँछन् । गढपर्खालले घेरिएको किसिपिँढी ब्युँताउने कामको सुरुआत गरिएको वडाध्यक्ष महर्जनले बताए ।
ऐतिहासिक पक्ष गर्विलो भए पनि आधुनिकताको प्रभावले यस गाउँलाई ओझेलमा पारेको छ । २०७२ सालको भूकम्पपछि पुरानै शैलीमा रहेका घर भत्किएपछि यहाँको प्राचीन संरचना नासिएको छ ।
नयाँ बन्ने संरचना पुरानै शैलीमा निर्माण गर्न खर्च बढी लाग्ने भएकाले स्थानीयबासी आधुनिक घर बनाउन सहज मान्छन् । ‘पुराना घरको एउटा झ्याल बनाउने खर्चले अहिलेको साढे २ तले घरका झ्याल किन्न पुग्छ,’ उनले भने ।
कंक्रिटको सहारामा आधुनिक शैलीमा बनाइएका घरका अगाडिका भाग दाची इँटा लगाएर केही हदसम्म भए पनि परम्परागत शैलीका बनाउने प्रयास भएको महर्जनको भनाइ छ ।
पुराना शैलीमा घर बनाउनेलाई केही अनुदान दिने विषयमा छलफल भइरहेको उनले बताए ।
कालिका भैरव मन्दिर दाची इँटा र कलात्मक झ्यालसहित पुरानो शैलीमा निर्माण भएको छ ।
वडाध्यक्ष महर्जनका अनुसार एउटा निजी घर पनि पुरानो शैलीमा बनेको छ । ‘यहाँका सबै घरका अघिल्लो भाग पुरातात्विक शैलीको बनाउने विषयमा गृहकार्य गरिरहेका छौँ, रकम अभावका कारण रोकिएको छ,’ उनले भने ।