Nic Ad Nic Ad
Nic Ad Nic Ad

खडेरीले हिउँदे बाली सुक्यो, किसान चिन्तित

आइतबार, फागुन १४, २०७९

डडेल्धुरा– लगातारको खडेरीले गहुँसहित हिँउदेबाली सुक्न थालेको छ । खडेरीका कारण हिउँदे बाली सुक्न थालेको भन्दै डडेल्धुराका किसान चिन्तित बनेका छन् । 

खेतमा लगाएको गहुँसँगै तेलहन बाली पनि नष्ट भइरहेको छ । लामो समयदेखि हिउँदे वर्षा भएको छैन ।

गहुँ लगाइएका खेत तथा गरा बाँझै छन् । पानी नपर्दा र सिँचाइ नहुँदा गहुँ सुकेर नासिएको आलिताल गाउँपालिका–२ का किसान देवराज भट्टले जानकारी दिए ।

खेतमा लगाइएको गहुँ सुक्न थालेपछि भोकमरी हुन सक्ने भयले किसान चिन्तित  छन् । पाखो जमिनमा अकासे वर्षाका भरमा लगाइने खेती पनि सुक्न थालेको छ । बजारमा गहुँको मूल्य अकासिँदै छ, तर खेतबारी भने बाँझै छन् । 

असोज अन्तिम सातापछि वर्षा भएको छैन । वर्षा नहुँदा खोलानाला पनि सुक्दै गइरहेका छन् । जिल्लामा ८ हजार ७४४ हेक्टर जमिनमा गहुँ खेती गरिन्छ ।

गत वर्ष पनि खडेरीले गर्दा १.५ मेट्रिक टन प्रतिहेक्टर मात्रै गहुँ उत्पादन भएको थियो । यस वर्ष पनि हिँउदे वर्षा नहँुदा किसान तथा किनेर खाने व्यक्तिलाई समेत समस्या हुन सक्ने कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले बताए ।

वर्षा नहुँदा हिउँदे तरकारीको पनि उत्पादन घटेको छ । गहुँ बाली लगाइने कुल क्षेत्रफलमध्ये वर्षातका भरमा खेती हुने जमिन ६० प्रतिशत छ ।

यस वर्ष अन्य वर्षको तुलनामा उत्पादन ६० देखि ७० प्रतिशतले घट्ने ज्ञान केन्द्रले जनाएको छ । 

गहुँ तथा तेलहन बाली उत्पादनमा समेत ह्रास आउन सक्ने केन्द्रका प्रमुख भट्टले जानकारी दिए । लामो समयदेखि पानी नपरेका कारण खेतबारीमा धेरै ठुलो असर परेको मुद्राडस्थित अजयमेरु–१ का किसान शेरबहादुर भण्डारीले बताए ।

पाखो जमिन सुख्खा हुँदै गइरहेको र बाली पनि आकाशे पानीको भरमा छर्नुपरेको अन्य किसानले बताए ।

खेतीपातीका भरमा परिवार पाल्ने किसान बढी चिन्तित छन् । उनीहरूले लगाएको अन्न सुक्दै गइरहेको छ र जग्गाजमिन बाँझो देखिन्छ ।

उच्च पहाडी क्षेत्रमा लगाएको अन्नबाली पानीको सुविधा नहुँदा नासिँदै गइरहेको अजयमेरु– ३ का ईश्वरी चन्दले बताए ।

समयमा पानी नपरेकै कारण जिल्लाका अधिकांश उर्वराभूमि बाँझो छ । तरकारी खेती गरिरहेका किसान पनि पानी नपर्दा चिन्तित छन्
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार