Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहिद सप्ताहको अवसरमा बागलुङमा ज्येष्ठ नागरिकलाई सम्मान

सोमबार, फागुन १५, २०७९

गण्डकी– बागलुङको ताराखोला गाउँपालिकाले सहिद सप्ताहको अवसर पारेर आइतबार जनयुद्धका शहीद र बेपत्ताजनका २७ परिवारलाई मासिक भत्ता वितरण गरेको छ ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले प्रति परिवारलाई मासिक रु एक हजारका दरले आठ महिनाको एकमुष्ठ भत्ता रु आठ हजार प्रदान गरेका हुन् ।

सहिद र बेपत्ताजनका परिवारलाई भत्तासँगै ‘हटकेस’ पनि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । सोही समारोहमा गाउँपालिकाभित्रका ४० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिकलाई उपहारस्वरुप ‘थर्मस’ पनि प्रदान गरिएको थियो ।

सहिद सप्ताहकै अवसरमा जनयुद्धका बेला बन्दी जीवन बिताएका गाउँपालिकाका १७ जनालाई सम्मान गरिएको छ । मन्त्री चुमानले उनीहरूलाई दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा मन्त्री चुमानले राजनीतिक परिवर्तनमा ताराखोलाका बासिन्दाले अग्रगामी भूमिका खेलेको बताए । 

उनले गाउँपालिकाले जनमुखी योजना र कार्यक्रममार्फत समृद्धि ताराखोलाको लक्ष्य पछ्याएकामा खुसी व्यक्त गरे । मन्त्री चुमानले गाउँपालिकाको केन्द्र जोड्ने शहीद मार्गको कालोपत्रका लागि प्रदेश सरकारबाट सक्दो बजेटको प्रबन्ध गरिने प्रतिबद्धता जनाए ।

जनयुद्धमा जीवन गुमाउने सहिद र बेपत्ताजनको सम्मानका लागि मासिक भत्ता दिन थालिएको गाउँपालिका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले बताए । 

गाउँसभाले बनाएको कार्यविधिअनुसार सहिद र बेपत्ताजनका परिवारलाई भासिक भत्ता दिन थालिएको हो । ताराखोला जनयुद्धबाट बढी प्रभावित क्षेत्र हो । युद्धमा परी त्यहाँका २६ जनाले ज्यान गुमाएका छन् भने दुई जना बेपत्ता छन् ।

यस्तै गोली नै लागेर गम्भीर घाइते भई अपांगता भएकाको सङ्ख्या १३ र सामान्य घाइतेको सङ्ख्या २२ रहेको जनाइएको छ । गाउँपालिकाको चालु आवको नीति तथा कार्यक्रममा पनि जनयुद्धबाट प्रभावित परिवार र तिनका सदस्यलाई मासिक भत्ता उपलब्ध गराउने उल्लेख थियो ।

गाउँपालिकाले सहिद, बेपत्ता तजा घाइतेजनका परिवारलाई लक्ष्य गरी स्वरोजगारमूलक कार्यक्रम सञ्चालनको पनि तयारी गरेको छ । सहिद सप्ताहमा सम्मानसहित नृत्य प्रतियोगिता, निःशुल्क स्वास्थ्य परीक्षणलगायतका कार्यक्रम गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  ०६:५९
प्रतिक्रिया दिनुहोस्