नेभिगेशन
सुरक्षा–अपराध

आइतबार हेर्दाहेर्दैमा परेको सन्दीपको मुद्दाको सुनुवाइ आज पनि

काठमाडौँ– बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । 

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भएको मुद्दा आइतबार हेर्दाहेर्दैमा परेको थियो । सोही मुद्दा आज पनि सुनुवाइ हुन लागेको अदालत स्रोतले जनाएको छ । 

सन्दीपको निवेदनमा सुनुवाइ सुरु गरे पनि बहस नसिकएकाले आइतबारको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको थियो ।

गत शुक्रबार खुला इजलासमा सुनवाइ गरिएकोमा आइतबार सन्दीपका कानुन व्यवसायीले बन्द इजलासमा सुनुवाइ गर्न माग गरेपछि त्यहीँ सुनुवाइ भएको थियो ।

महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर अग्राधिकार दिएको मुद्दाको सुनुवाइ आइतबार नसकिएको हो । 

आइतबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, मुरारी सापकोटाले बहस गरेका थिए ।

यस्तै, ‘पीडित’का तर्फबाट शान्ति रिसाल काफ्लेसहित ३ जनाले तथा सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका थिए ।

नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिँदै लामिछानेलाई देश बाहिर जान नपाउने शर्त राखेको थियो । 

आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै उनकोे तर्फबाट गत बिहीबार सर्वोच्चमा निवेदन परेको थियो ।

उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सुनुवाइ गर्दै विदेश जाने अनुमति दिन अस्वीकार गरेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध