Nic Ad Nic Ad
Nic Ad Nic Ad

मिथिलाञ्चलमा सुरु भयो होली

सोमबार, फागुन १५, २०७९

जलेश्वर– मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ ।

१५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिन आज बिहान भंगहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबिरले होली खेलाई होली पर्व थालिएको हो ।

परिक्रमामा सहभागी हजारौँ साधुसन्त, महात्मा र स्थानीयबासीले आपसमा रङ अबिर साटासाट गर्दै होली पर्वको सुरुआत गरेका थिए ।

योसँगै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि आज अबिरको प्रयोग सुरु भएको छ । यसरी होलीको आगमनसँगै प्रत्येक वर्षझैँ यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत नाच, गान, हाँसो ठट्टा र व्यंग्यात्मक कविता तथा चुट्किला गाउने, देखाउने र प्रस्तुत गर्ने कार्यको समेत शुभारम्भ हुनेछ ।

तत्कालीन समयमा भगवान् रामचन्द्र र माता जानकी वनवास गएको दिनमा महोत्तरीको कञ्चनवनमा होली पर्व मनाएको बेला सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानी पनि रातो भएको जनविश्वास छ ।

मिथिलाञ्चलका साधुसन्त महात्मा र गृहस्थ परिवार भगवान्ले वनवास गएको दिनलाई सम्झिँदै १५ दिने परिक्रमा गर्छन् । परिक्रमाकै क्रममा आज बिहानको समयमा भगवानले होली पर्व खेलेको सम्झिँदै सम्पूर्ण परिक्रमा यात्रीले पर्व मनाएका हुन् ।

धनुषाको हनुमानगढीमा गत सोमबार परिक्रमाका लागि भगवान् रामचन्द्र र माता जानकीको डोला र परिक्रमा यात्री जम्मा भई मंगलबारदेखि भारतको कलाणेश्वरबाट सुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १०:३५
प्रतिक्रिया दिनुहोस्