Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखराको ट्राफिक व्यवस्थापन प्रविधिमैत्री बनाइँदै

सोमबार, फागुन १५, २०७९

पोखरा– देशकै प्रमुख पर्यटकीय सहर पोखराको यातायात व्यवस्थालाई समानुकूल परिमार्जित गरी प्रविधिमैत्री बनाइने भएको छ ।

पोखराको हरित यातायात प्रणाली विकास परियोजना र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयका प्रतिनिधिबीच यस सम्बन्धमा द्विपक्षीय सम्झौता भएको भएको हो ।

पोखराको अहिलेको यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवद्र्धन गर्ने सम्झौतामा उल्लेख छ । परियोजनाअन्तर्गत पोखराका ८४ बस रुटमा १ हजार २८६ स्थानमा बस बिसौनी निर्माण गरिनेछ । यस्तै ३ स्थानमा बस टर्मिनल बनाइनेछ ।

परियोजनाअन्तर्गत कोरियाले विभिन्न साझेदार संस्थाको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्नेछ । यसको आधा रकम बस स्टप र बसमा मेसिन जडानमा खर्च हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।

पोखराको मुख्य चोक पृथ्वी चोकलाई थप विस्तारसमेत गरिनेछ । ३ चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ ।

यस्तै दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गरिनेछ ।

विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने कोरियन टोलीले विश्वास दिलाएको छ ।

परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारीको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिनेछ ।

टोलीका अनुसार परियोजनाको अन्त्यमा पोखराको सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ ।

पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाबारे हरेक नागरिकले डिजिटल माध्यमबाट जानकारी पाउनेछन् । अहिलेजस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नुपर्ने छैन भने चालकले समेत जथाभावी यात्रु चढाउन र ओराल्न पाउने छैनन् ।

महानगर प्रमुख आचार्यले यस परियोजनामार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा पुग्ने बताए ।

उनका अनुसार परियोजना सम्पन्न भएपछि बस चढ्ने यात्रुको संख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुलाई सहज हुने विश्वास महानगरको छ ।

पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्न परियोजना प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

ध्चष्तभ तय ऋल् म्भकप
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १०:४८
प्रतिक्रिया दिनुहोस्