फागुन २० भित्रै विश्वासको मत लिँदै मुख्यमन्त्री शाह
धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २० गतेभित्रै विश्वासको मत लिने तयारी गरेका छन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको २ दिनपछि काठमाडौँ गएका शाहले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित नेता कार्यकर्तासँग भेट गरेका थिए ।
तर विश्वासको मत पाउने सुनिश्चितता नभएपछि उनले विश्वासको मत लिने अन्योल थियो । तर पछिल्लो समय सत्ता समीकरण फेरिएसँगै उनले विश्वासको मत लिने तयारी गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको नेकपा एकीकृत समाजवादी पार्टीका कैलाली संयोजक दीर्घ सोडारीले विश्वासको मत लिन अब अप्ठ्यारो नभएको बताए ।
सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एसका ४ सांसद छन् । ३ वटै दल मिलेर सरकार बन्दा सम्मानजनक बहुमत पुग्ने देखिन्छ । सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन २७ सांसदको विश्वास आवश्यक पर्छ ।