इजरायल र प्यालेस्टाइनबीचको तनाव कम गर्न जोर्डन वार्ता
अम्मान– इजरायली र प्यालेस्टिनी प्रतिनिधिहरूले आइतबार जोर्डनमा ‘राजनीतिक–सुरक्षा’ वार्ताका लागि भेट गरेका छन् ।
वार्ताको उद्देश्य हिंसापछि शान्ति बहाल गर्नु रहेको दुबै देशका अधिकारीहरूले बताएका छन् ।
यद्यपि, वार्ता चलिरहेकै बेला ‘प्यालेस्टिनी आक्रमण’मा २ जना इजरायलीको मृत्यु भएको इजरायलले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गिभरले उत्तरी पश्चिमी किनाराको हुवारामा भएको गोलीकाण्डमा दुई इजरायली नागरिकको मृत्यु भएको बताएका छन् ।
जोर्डनको सरकारी प्रसारक अल–मामलकाले रेड सीको रिसोर्ट अकाबामा भएको बैठक ‘क्षेत्रीय र अन्तर्राष्ट्रिय सहभागिताका साथ प्यालेस्टिनी र इजरायलीहरूबीच वर्षौंमा यस प्रकारको पहिलो बैठक’ भएको र यसले ‘प्यालेस्टिनी क्षेत्रको स्थिति’ लाई सम्बोधन गर्ने बताएको छ ।
इजरायली सरकारका एक अधिकारीले नाम नबताउने शर्तमा आफूहरूको प्रतिनिधिमण्डलमा राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बी र शिन बेट घरेलु सुरक्षा निकायका प्रमुख रोनेन बार रहेको जानकारी दिए ।
इजरायली अधिकारीका अनुसार एक महिनाभन्दा कम समयमा सुरु हुने रमजान महिनाभन्दा अगाडि नै यस क्षेत्रमा सुरक्षा तनाव कम गर्ने उपायबारे प्रतिनिधिमण्डलले छलफल गर्नेछन् ।
प्यालेस्टिनी गुप्तचर निकायका प्रमुख माजेद फराज पनि बैठकमा सहभागी हुने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
मध्यपूर्व र उत्तर अफ्रिकाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का संयोजक ब्रेट म्याकगर्कका साथै जोर्डन र इजिप्टका सुरक्षा अधिकारीहरू पनि त्यहाँ उपस्थित थिए ।
राजा अब्दुल्लाह द्वितीयले म्याकगर्कलाई भेटेर प्यालेस्टाइनी भू–भागमा शान्ति कायम गर्न, तनाव कम गर्न र स्थिरतालाई अस्थिर पार्ने र शान्ति प्राप्त गर्ने सम्भावनालाई कमजोर पार्ने कुनै पनि एकतर्फी कदम रोक्न प्रयासलाई तीव्र बनाउने महत्वमा जोड दिएका थिए ।
वार्ता ‘धेरै चरणहरूमा सहमति’ को साथ समाप्त भएको बताएका छन् । इजरायल र प्यालेस्टाइनबीच बढ्दो अशान्तिलाई लिएर अन्तर्राष्ट्रिय चासोका बीच आइतबारको बैठक भएको हो ।
जोर्डन सरकारका एक अधिकारीले शनिबार एएफपीलाई बताएअनुसार वार्ताको उद्देश्य ‘विश्वास निर्माण गर्नु’ र ‘प्यालेस्टिनी जनताको कठिनाइ कम गर्न सुरक्षा र आर्थिक उपायहरू’मा सहमति जनाउनु हो ।