Nic Ad Nic Ad
Nic Ad Nic Ad

यमनको सहयोग गर्न राष्ट्रसंघद्वारा ४ अर्ब ३० करोड डलर माग 

सोमबार, फागुन १५, २०७९

जेनेभा– संयुक्त राष्ट्रसंघले युद्धग्रस्त यमनका लाखौँ मानिसलाई सहयोग गर्न यस वर्ष ४ अर्ब ३० करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।

८ वर्षदेखि जारी गृहयुद्धका कारण तहसनहस भएको देशका १ करोड ७० लाखभन्दा बढी मानिसलाई सहयोग गर्न सहायता संस्थाहरूले उक्त रकम माग गरेका हुन् । 

यस द्वन्द्वले लाखौँ मानिसको ज्यान लिइसकेको छ र अरब प्रायद्वीपको सबैभन्दा गरिब देशलाई विश्वको सबैभन्दा खराब मानवीय त्रासदीमा डुबाएको छ ।

यमन जलवायु संकटको प्रभावको अग्रपंक्तिमा रहेको र भीषण खडेरी र बाढीले जीवनलाई खतरामा पारेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

‘विश्वव्यापी मानवीय आवश्यकताहरूले दाताहरूको सहयोगलाई पहिले कहिल्यै विस्तार नगरेका भए पनि यमनमा सहायता अभियानका लागि निरन्तर सहयोग बिना लाखौँ यमनीको जीवन सन्तुलनमा नरहने र द्वन्द्व सदाका लागि अन्त्य गर्ने प्रयास अझ चुनौतीपूर्ण हुनेछ,’ संयुक्त राष्ट्रसंघले सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

सन् २०१५ मा हुथी विद्रोहीले राजधानी साना र देशको ठुलो भूभाग आफ्नो नियन्त्रणमा लिएपछि साउदी नेतृत्वको गठबन्धनले सरकारलाई समर्थन गर्न हस्तक्षेप गरेको थियो ।

गत वर्ष अप्रिल २ मा सुरु भएको युद्धविराम गत अक्टोबरमा समाप्त भएको थियो । 

जेनेभामा सोमबार हुने दाता सम्मेलनमा भाग लिन आएका संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले अन्तर्राष्ट्रिय समुदायसँग यो संकट अन्त्य गर्ने शक्ति र साधन रहेको बताएका छन् । 

‘यो हाम्रो अपिललाई पूर्ण रूपमा वित्तपोषण गरेर सुरु हुन्छ र संयुक्त राष्ट्रसंघ चाँडै रकम वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्छ,’ उनले बताए ।

गत वर्ष संयुक्त राष्ट्रसंघले सहायता एजेन्सीहरूलाई हरेक महिना देशभरका करिब १ करोड १० लाख मानिससम्म पुग्नका लागि २।२ अर्ब अमेरिकी डलरभन्दा बढी रकम जुटाएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्