प्रचण्ड मनस्थिति : एमालेका मन्त्री नहटाउने, काम गर्न पनि नदिने
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेका मन्त्रीहरूको जिम्मेवारी तत्काल नखोस्ने भएका छन् ।
फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनअघि मन्त्रीहरूको जिम्मेवारी हेरफेर नगर्ने मनस्थितिमा प्रधानमन्त्री रहेको उनी निकट एक नेताले जानकारी दिए ।
राष्ट्रपति निर्वाचनमा कांग्रेसका नेता रामचन्द्र पौडेललाई सघाउने गरी ८ दलीय गठबन्धन बनेपछि एमाले एक्लिएको छ । एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्ड २ महिना पनि नपुग्दै कांग्रेससहितको गठबन्धनमा समाहित भएका छन् ।
नयाँ गठबन्धनमा सहभागी नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ ।
तर, एमालेले भने अहिलेसम्म त्यस्तो कुनै निर्णय गरेको छैन । राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थपिएको छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्री हेरफेर गर्ने मनस्थिति बनाएको उनी निकट नेताहरू बताउँछन् ।
प्रचण्डले आइतबार साझ नेपाली कांग्रेसलगायत ८ दलका नेतालाई बालुवाटारमा बोलाएर राष्ट्रपति निर्वाचनबारे छलफल गरेका थिए ।
सो छलफलमा प्रधानमन्त्रीले विश्वासको मत लिने वा मन्त्रिपरिषद् पुनर्गठनबारे कुरा नभएको जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठले बताए ।
‘बैठकमा राष्ट्रपति निर्वाचनका बारेमा छलफल भयो । ८ दलीय गठबन्धनका उम्मेदवारलाई राष्ट्रपतिमा जिताउन कार्यदल बनाउनेबारे छलफल भयो । अन्य विषयमा भने खासै कुरा भएन’, नेता श्रेष्ठले सिएन नेपालसँग भने ।
बैठकमा सहभागी अन्य नेताहरूले भने एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा के गर्ने भन्ने प्रश्न उठाएको तर, त्यसबारे प्रधानमन्त्रीले कुनै जबाफ नदिएको श्रेष्ठले बताए ।
प्रधानमन्त्री भने एमालेका मन्त्रीहरू आफैँ सरकारबाट बाहिरिए हुन्थ्यो भन्ने मनस्थितिमा रहेको बुझिएको छ । पछिल्ला दिनमा प्रचण्डले एमालेलाई चिढ्याउने काम गरिरहेका छन् ।
आइतबार नै प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री डा. विमला राई पौडेलको विदेश भ्रमण रोकिदिएका छन् । परराष्ट्र मन्त्रालय एमालेले पाएको थियो ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएको परराष्ट्र मन्त्रीको स्विट्जरल्यान्ड भ्रमण मुख्यसचिवमार्फत प्रधानमन्त्रीले रोक्न लगाएपछि एमाले आक्रोशित भएको छ ।
भलै, राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने बेलामा एमालेका नेताहरूले राष्ट्रपति चुनावसम्म सरकार नछाड्ने बताएका थिए ।
एमालेलाई सरकारबाट तत्काल हटाउनेबारे कुनै धारणा नबनाएको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।
तर, प्रधानमन्त्री प्रचण्डले एमालेबाट मन्त्री बनेकाहरूलाई भने काम गर्न नदिने संकेत गरेका छन् ।
‘एमालेका मन्त्रीहरूलाई प्रधानमन्त्रीले जिम्मेवारीबाट तत्काल हटाउने सम्भावना देखिँदैन । बरु एमालेले नै मन्त्रीहरूलाई जम्मेवारीबाट फिर्ता बोलाउने परिस्थिति निर्माण हुन सक्छ’, प्रचण्ड निकट एक नेताले भने ।