Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवन–२ उपनिर्वाचन : मतदाता नामावली अद्यावधिक गर्न १ दिन बाँकी

सोमबार, फागुन १५, २०७९

काठमाडौँ– आगामी वैशाख १० गतेका लागि तोकिएको चितवन– २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार मतदाता नामावली अद्यावधिक गराउन अब १ दिन बाँकी छ ।

आयोगले गत माघ २९ गते सो उपनिर्वाचनको मिति तोकेर निर्वाचन कार्यक्रम स्वीकृत गरी यही फागुन १ गतेदेखि १६ गतेसम्मका लागि मतदाता नामावली अद्यावधिक गराउन समय निर्धारण गरेको थियो । 

कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने कार्य चैत २३ गतेका लागि तय गरिएको छ ।

सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता प्रकरणमा दोषी ठहर भएपछि उनको पद खारेज भएको थियो । 

नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो, सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधिसभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भएबमोजिम उपनिर्वाचनको मिति तोकिएको हो ।
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्