Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोल गाडेको ५ वर्षमा पनि बलेन बिजुली

सोमबार, फागुन १५, २०७९

जाजरकोट– पोल गाडेको ५ वर्ष भइसक्दा पनि यहाँको कुशे गाउँपालिकाको अधिकांश ठाउँमा विद्युत सेवा उपलब्ध गराइएको छैन ।

३३ केभी प्रसारण लाइन कुशेमा पु¥याउनका लागि नेपाल विद्युत् प्रद्यिकरणले ५ वर्षअघि बोलपत्र आह्वान गरेर काम सुरु गरे पनि हालसम्म सेवा सञ्चालन हुन सकेको छैन । कुशे –५ पाँचकाटियाबाट खुर्पासम्म पोल गाडिएका छन् ।

साई बाबा एन्ड तारा कन्ट्रस्क्सन खलंगा–२ ले पालिकाको पाँचकाटियादेखि खुर्पा समकोटसम्म प्रसारण लाइन निर्माण गर्न आव २०७५/७६ मा ठेक्का लिएकामा हालसम्म काम सम्पन्न भएको छैन ।

गाडिएका पोल जीर्ण अवस्थामा छन् भने तार छरिएर अलपत्र छन् । २ ठाउँबाट विद्युत लिनका लागि काम सुरु भएको ५ वर्ष बितिसक्दा आधा काम पनि नहुँदा यहाँका सर्वसाधारण मर्कामा परेका छन् ।

छेडागाड नगरपालिकाको थलहबाट कुशे गाउँपालिका र भेरी नगरपालिका हुँदै कुशेको पाँचकाटिया जोडेर पालिकाभर विद्युतीकरण गर्ने उद्देश्यसहित प्राधिकरणले ठेक्का उपलब्ध गराएकामा हालसम्म २० प्रतिशत काम भएको बताइएको छ ।

बाटुल्ले बजारदेखि साधिविस्यौनासम्म तार ठाउँ–ठाउँमा थुपारेर फाँकिएको अवस्थामा रहेको स्थानीयबासी जनक चन्दले बताए । 

‘समयमा काम गर्नुपर्नेमा यसरी राज्यको राष्ट्रिय सम्पत्ति फ्याँकेर किन नोक्सान गरेको होला ?’, उनले भने । पालिकाले समेत कुनै चासो नदेखाएको चन्दले गुनासो गरे । पालिका, प्राधिकरण र निर्माणको जिम्मा लिएको कम्पनीले छिटो काम चालु गरी विद्युत आपूर्ति गर्नुपर्ने स्थानीयबासीको माग थियो ।
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १६:१४
प्रतिक्रिया दिनुहोस्