यू–१९ विश्वकप छनोटमा हङकङविरुद्ध नेपालको जित
काठमाडौँ– आइसिसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हराएको छ ।
युएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा सोमबार हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गरेर जित निकालेको हो ।
नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए भने उत्तम थापा मगरले अविजित ३९ रन बनाए । छक्का प्रहार गर्दै जिताएका आकाशले ७२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । ५० बल खेलेका उत्तमले ४ चौका प्रहार गरे ।
२६ रन जोड्दा नेपालले छैटौँ ओभरमा पहिलो विकेट गुमाएको थियो । तर आकाशले उत्तम थापा मगरसँग दोस्रो विकेटका लागि अविजित ९८ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । ओपनर अर्जुन कुमालले १६ रन जोडे । हङकङका डानिएल मोर्गन मपले १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको हङकङ नेपाली बलरको कसिलो बलिङ सामु ४६.३ ओभरमा १२० रनमा अल आउट भएको थियो ।