बुढासुब्बा गोल्डकप : पाँच पटकको विजेता पुलिस क्लब पराजित
धरान–धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा पाँच पटकको उपाधि विजेता नेपाल पुलिस क्लब २३औँ संस्करणबाट बाहिरिएको छ ।
धरान रङ्गशालामा भएको क्वाटरफाइनल खेलमा पुलिस क्लब काँकरभिट्टटा फुटबल ट्रेनिङ सेन्टरसित २–० गोलअन्तरले पराजित भएको हो ।
काँकरभिट्टटाका लागि पहिलो हाफको २०औँ मिनेटमा तथा दोस्रो हाफको ८१औँ मिनेटमा निशान लिम्बूले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच लिम्बू नै घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
पुलिस क्लबले दोस्रो, चौथो, पाँचौँ, १०औँ र १९औँ संस्करणको बुढासुब्बा गोल्कपको उपाधि जितेको थियो । बीसौँ संस्करणमा भने पुलिस क्लब उपविजेता बनेको थियो ।
काँकडभिट्टाले बुधबार सेमिफाइनलमा भारतको युकेएफसीसित प्रतिस्पर्धा गर्नेछ । यसअघि युकेएफसी धरान फुटबल क्लबलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ ।
मङ्गलबार क्वाटरफाइनलमा एन्फा मोरङ र बङगलादेशको केबिपिएस क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यही फागुन २० गते फाइलन खेल हुने उक्त प्रतियोगितामा तीन विदेशीसहित आठ टोली सहभागी छन् ।