Nic Ad Nic Ad
Nic Ad Nic Ad

दमौली अस्पतालमा डायलाइसिसका लागि पालो कुर्नुपर्ने बाध्यता  

मंगलबार, फागुन १६, २०७९

गण्डकी– तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा मिर्गौला उपचार केन्द्र सञ्चालनमा छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रमार्फत नौ वर्षदेखि सञ्चालित उक्त मिर्गौला केन्द्रमा हाल ५० जना पीडितले डायलाइसिस सेवा लिइरहेका छन् । 

तर, अझै ३०  मिर्गौलापीडित डायलाइसिसका लागि पालो पर्खिँदै छन् । तनहुँका विभिन्न ठाउँका मिर्गौलापीडितले मिर्गौला उपचार केन्द्रमा डायलाइसिसका लागि नाम टिपाएर पालो पर्खिरहेका छन् । नियमितरूपमा डायलायसिस गराउनुपर्ने उनीहरूले हाल पोखरामा डायलाइसिस गरिरहेका छन् । 

आफ्नै गृहजिल्लामा डायलाइसिस सेवा लिनका लागि उनीहरू नाम टिपाएर कुरिरहेको उपचार केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए । ‘३० जना तनहुँकै मिर्गौलापीडित अहिले बाहिरी जिल्लामा गएर डायलायसिस गराइरहनुभएको छ, यहीँ नै डायलायसिस गराउँदा उहाँहरूलाई सहज हुन्छ,’ उनले भने, ‘तर अहिले डायलाइसिसका लागि ठाउँ खाली छैन ।’

उपचार केन्द्रमा डायलाइसिस गराइरहेका मिर्गौलापीडितले मिर्गौला प्रत्यारोपण वा अन्यत्रै स्थानान्तरण भएर गएमात्रै नयाँले मौका पाउने अवस्था रहेको उनले बताए । ‘ठाउँ खाली भएमात्रै नयाँलाई मौका दिने हो, कि उहाँहरूले मिर्गौला प्रत्यारोपण गर्नुप¥यो कि अन्यत्रै जिल्लामा स्थानान्तरण भएर जानुपर्यो,’ उनले भने, ‘ठाउँ खाली भएपछि नाम दर्ता गरेकाहरूलाई यहाँ डायलाइसिसको व्यवस्था मिलाउँछौँ ।’

नेपाल सरकारको नीतिबमोजिम उपचार केन्द्र औपचारिकरूपमा दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको भएता पनि हाल सोही केन्द्रले दमौली अस्पताल सूचीकृत नभएसम्मका लागि सञ्चालन गरिरहेको छ । हाल आठ मेसिनमार्फत ५० बिरामीले डायलाइसिस सेवा लिइरहेका छन् । दमौली अस्पतालले आगामी दिनमा डायलाइसिस केन्द्र सञ्चालन गरेता पनि शत्रुधन मन्जु डायलाइसिस उपचार केन्द्रको रूपमा नै सञ्चालन हुने प्रतिबद्धता जनाएको छ । 

विसं २०७२ मङ्सिर ३ गते अस्पतालमा डायलाइसिस युनिट सञ्चालनमा आएको थियो । उक्त युनिट गत कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको छ । युनिटमा हालसम्म दुई सय २८ ले डायलाइसिस सेवा लिएका छन् । केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौलापीडितले पनि डायलाइसिस सेवा लिइरहेका छन् । लमजुङ, गोरखा, स्याङ्जा, कास्की जिल्लाका मिर्गौलापीडितले केन्द्रबाट नियमितरूपमा डायलाइसिस सेवा लिइरहेको जनाइएको छ ।

हेल्थ केयर फाउण्डेशन अफ नेपालले दमौली अस्पतालमा डायलाइसिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना  पति शत्रुधन उपाध्यायको स्मृतिमा सुरुमा रु एक करोड सहयोग गरेका थिए भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गरेका थिए । केन्द्रमा सुरुमा रु एक करोड २० लाखको लागतमा ६ वटा डायलाइसिस उपकरण जडान गरिएको थियो । पछि दुईवटा उपकरण थप गरेपछि केन्द्रमा हाल आठवटा डायलाइसिस उपकरण रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ०८:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार