Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँ समाज हङकङद्वारा मिर्गौलापीडितलाई साढे दुई लाख सहयोग

मंगलबार, फागुन १६, २०७९

गण्डकी– व्यास नगरपालिका–८ जौबारी निवासी २५ वर्षीया मिर्गौलापीडित प्रिती गुरुङलाई तनहुँ समाज हङकङले रु दुई लाख ४६ हजार छ सय ५० आर्थिक सहयोग गरेको छ । 

केही समयदेखि मिर्गौलासम्बन्धी समस्याबाट पीडित बनेकी गुरुङलाई समाजले सोमबार उक्त रकम सहयोग गरेको हो । तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष जंगबहादुर थापा, पूर्वअध्यक्ष भीमराज गुरुङ र सचिव सुवित गुरुङले पीडितको उपचारमा सहयोग पुर्याउने उद्देश्यस्वरुप उक्त रकम हस्तान्तरण गरेका छन् । 

समाजका निवर्तमान अध्यक्ष थापाले विगतदेखि नै समाजले तनहुँको सामाजिक विकाससँगै विभिन्न रोगका पीडितलाई सहयोग गर्दै आएको बताए । दुःख, पीडामा परेको खबर समाजलाई प्राप्त हुनासाथ क्षमताअनुसार सहयोग संकलन अभियानमा जुट्ने गरेको थापाले बताए । समाजले सन् १९९९ देखि तनहुँका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको पूर्वअध्यक्ष गुरुङले उल्लेख गरे । सुरुका दिनमा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको समाजले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको उनले बताए ।

उक्त रकम समाजका सचिव सुवित गुरुङको संयोजकत्वमा संकलन गरिएको थियो । विभिन्न सिलसिलामा हङकङ पुगेका तनहुँवासी र गैर तनहुँवासीसँग समन्वय गरी रकम जुटाइएको समाजले जनाएको छ । समाजले भूकम्पपछिको पुनःनिर्माण, बाढी–पहिरोजस्ता दैवी प्रकोपबाट पीडित, विभिन्न स्वास्थ्य समस्याबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चारसम्बन्धी पूर्वाधार विकास तथा प्रवद्र्धनमा सहयोग गर्दै आएको छ । 

समाजले जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पुर्याउन रु १५ लाखको अक्षयकोष पनि स्थापना गरेको छ । विसं २०५६ मा स्थापित समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको ब्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको छ । दमौलीस्थित गण्डकी विकास बैंकमा स्थापित अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ । 

समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने साथै क्यामिनको छापथोक, भीमादलगायतका स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ । समाजमा चार सय तनहुँवासी आबद्ध छन् । समाजले हङकङमा समेत विविध कार्यक्रम गर्दै आएको छ । समाजले भावनात्मक विकास गर्ने र हङकङमा बस्ने नेपाली कसैलाई दुःख पर्दा साथ दिँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ०८:३९
प्रतिक्रिया दिनुहोस्