राष्ट्रपति रनिङ शिल्ड काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिका प्रथम
काभ्रेपलाञ्चोक– चौधौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९ मा पाँचखाल नगरपालिका प्रथम भएको छ । काभ्रेको पनौती क्षेत्रीय रंगशालामा सोमबार प्रतियोगिताको समापन कार्यक्रममा १३ स्थानीय तहबाट सहभागी खेलाडी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा पाँचखाल नगरले १२ स्वर्ण, ६ रजत र १० काश्य पदकमा विजयी भई प्रथम भएको हो । नौ स्वर्ण, १० रजत जितेको पनौती नगर दोस्रो भएको छ भने सात स्वर्ण र ६ रजत जितेको चौँरीदेउराली गाउँपालिकाले तेस्रो स्थान हासिल गर्यो ।
भलिबल छात्रतर्फ खानीखोला प्रथम, पनौती दोस्रो, चौँरीदेउराली तेस्रो र पाँचखाल चौथो भएका छन् । छात्रातर्फ भने चौँरीरीदेउराली प्रथम, नमोबुद्ध दोस्रो, धुलिखेल तेस्रो र बेथान्चोक चौथो भएका हुन् ।
यस्तै, कबड्डी खेलमा छात्रतर्फ पनौती, रोशी, बनेपा, पाँचखाल क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो भएका छन् । छात्रातर्फ भने बनेपा, पनौती, रोशी र मण्डनदेउपुर क्रमशः प्रथम, दोस्रो, तेस्रो र चौथो भएका हुन् ।
त्यस्तै, प्रतियोगितामा एथ्लेटिक्स्तर्फ पाँचखाल, चौँरीदेउराली र मण्डनदेउपुर क्रमशः प्रथम, दोस्रो, तेस्रो भएका थिए । डब्लुटिएफ तेक्वान्दो खेलतर्फ पनौती, चौँरीदेउराली र बेथानचोक क्रमशः प्रथम, दोस्रो, र तेस्रो भएका छन् । करातेतर्फ बनेपा, खानीखोला र बेथान्चोक क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका हुन् ।
शनिबारदेखि सञ्चालन गरिएको प्रतियोगिता सोमबार समापन भएको हो । यसअघि सबै स्थानीय तहमा विद्यालयस्तरीय प्रतियोगिता आयोजना सम्पन्न गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।