Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्ड र माधव नेपालको प्रशंसा गर्दै गगन थापाले भने– घाम लागेकै बेलामा गठबन्धन भत्कायौँ

मंगलबार, फागुन १६, २०७९

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस १० मा भएको गल्तीलाई सच्याएर नेपाली कांग्रेसले घाम लागेको बेलामा नेकपा (एमाले)सँगको गठबन्धन भत्काएको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दैै पुस १० गते दुर्घटना भएको र त्यसलाई अहिले सच्याउने काम भएको थापाले बताए । 

‘उज्यालोमा, घाम लागेको बेलामा गठबन्धन भत्काउने प्रयास गरेको हो । कामना गरेको हो । यसका लुकाउनु पर्ने कुरै छैन । यसमा अपराधबोध महसुस गर्नुपर्ने अवस्था पनि छैन । किनकि, जे बनेको थियो त्यो अप्राकृतिक थियो, अस्वभाविक थियो । अवाञ्छित थियो । त्यसैले हामीले त्यसलाई ठिक ट्रयाकमा हिडाउनै पर्ने थियो,’ उनले भने । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने मात्रै लोभ नराखेको भन्दै थापाले प्रचण्डको प्रशंसा पनि गर्न भ्याए । 

‘यो पनि बुझ्न आवश्यक छ कि माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री मात्रै बन्ने लोभ, लासला र प्रधानमन्त्री नै सबैकुरा हो भन्ने कुरा आजको दिनमा लागेको थियो भने पुस १० मा बनेको गठबन्धनलाई समातेर बसिरहनुभएको भए अझ बढी समय र सहजताका साथ प्रधानमन्त्री हुनसक्नुहुन्थ्यो,’ उनले भने । 

कार्यक्रममा थापाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको पनि प्रशंसा गरेका थिए । 

‘एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चाहेको भए राष्ट्रपति हुने अफर र अवसर आएको थियो । उहाँले चाहनुभएको भए एमालेकै समर्थनमा प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो । जानु भएन नि त राष्ट्रपति र प्रधानमन्त्री बन्नलाई’, उनले भने, ‘नेताहरुसँग गुनासा छन् । प्रश्नहरू पनि छन् । तर, जहाँ सही गरेका छन् त्यसबेला सही गरेको पनि भन्नसक्नुपर्छ ।’ 

पुस १० मा गल्ती भएको बोध सबैलाई भएपछि अहिलेको ८ दलीय गठबन्धन बनेको थापाले बताए । 

संसद्को पहिलो बैठकमा एमालेका अध्यक्षले पहिलो आफूले गरेको संसद् विघटन सही थियो र त्यसरी संसद् विघटन पटक–पटक हुन्छ भनेपछि पुस १० गतेको गठबन्धन टिक्न हुँदैन भन्ने राजनीति सोच सबैलाई भएको थापाले बताए । 

अब केन्द्र र प्रदेश सबै ठाउँमा ८ दलीय गठबन्धनको सरकार बन्ने उनले दाबी गरे । 

केन्द्र, प्रदेश र स्थानीय सरकारमा कांग्रेसको उपस्थिति हुने भएकाले नतिजा आउने गरी काम गर्नुपर्ने चुनौति रहेको थापाको स्वीकारोक्ति थियो ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्