Nic Ad Nic Ad
Nic Ad Nic Ad

उत्तर–दक्षिण करिडोरका २ दर्जन पुल सुरु हुनै बाँकी

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– उत्तर–दक्षिण करिडोर अबको २ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि यहाँका धेरै पुलको निर्माण सुरु हुनै बाँकी छ ।  

कालीगण्डकी करिडोरमा १५, कोसी करिडोरमा ४ र कर्णाली करिडोरमा ५ वटा पुल निर्माणमा जान बाँकी छन् । 

कोसी करिडोरमा २ पुल सम्पन्न भइसकेको र दुइटा निर्माणाधीन रहेको आयोजनाले जनाएको छ । बरुण नदीमा ७० मिटर लम्बाइको पुल निर्माणाधीन छ ।

त्योभन्दा माथि ४ वटा पुलको डिजाइन भइसकेको उत्तर–दक्षिण करिडोर आयोजनाका प्रमुख श्यामबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘अझै पनि ४ वटा पुल ठेक्कामा जानै बाँकी छ ।’

कालीगण्डकी करिडोरमा हालसम्म ५ वटा पुल सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । जम्मा १२ वटा पुल निर्माणाधीन भए पनि तीमध्ये धेरै सम्पन्न हुने चरणमा रहेको प्रमुख खड्काले जानकारी दिए ।

निर्माणाधीन पुल ६०÷७० मिटर लम्बाइसम्मका रहेको उनले बताए । चालु आवमा २ वटा पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको उनले जानकारी दिए ।

१४ वटा पुल निर्माण गर्ने लक्ष्य रहेकामा ५ वटा सकिएको छ भने अरूमा काम भइरहेको छ । १५ वटा पुलको ठेक्का लगाउनै बाँकी छ ।

प्रगतिका हिसाबले सबैभन्दा पछि रहेको कर्णाली करिडोरमा पुलसँगै विभिन्न कल्भर्ट पनि निर्माण गर्नुपर्नेछ । सानासाना खोल्सामा कल्भर्ट बनाउनुपर्ने रहेको आयोजना प्रमुख खड्काले बताए ।

उनले भने, ‘कतै ठेक्का लगाएर निर्माणाधीन छन् भने थप कल्भर्टका लागि ठेक्का आह्वान गरिएको छ ।’

कर्णाली करिडोरमा जम्मा १४ पुल रहेकामा ९ वटा असार मसान्तमा ठेक्का लागेको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख वीरेन्द्रकुमार यादवले बताए ।

गत आव र त्योभन्दा पहिले निर्माण सुरु भएका ५ वटा पुल निर्माणाधीन छन् । उनले भने, ‘अझै ४–५ वटा डिजाइनमा जान बाँकी छ र सर्भे डिजाइन भइरहेको छ ।’

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १४:५६
प्रतिक्रिया दिनुहोस्