राष्ट्रपतिमा आफ्ना उम्मेदवारले जित्ने कांग्रेस र एमालेको दाबी
काठमाडौँ– नेपाली कांग्रेसका नेता दीपक खड्काले राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत विजयी हुने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौँमा गरेको साक्षात्कारमा खड्काले प्रखर, योग्य र निष्ठापूर्वक राजनीति गरेको व्यक्तित्वलाई कांग्रेसले अघि सारेको भन्दै पौडेल सर्वसम्मत विजयी हुने दाबी गरे ।
नेता खड्काले कांग्रेसले संविधानको धारा ७६ को ३ अनुसार सरकार बनाउने हो कि भनेर बजारमा चलेको हल्लामा कुनै सत्यता नभएको जिकिर गरे ।
अब पनि प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा मन्त्रिपरिषद् पुनर्गठन हुने उनको भनाइ छ ।
साक्षात्कारमा एमालेकी नेतृ एवं निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहले एमालेले अब प्रतिपक्षीको भूमिका निर्वाह गरेर देश र जनताको सेवा गर्ने बताइन् । उनले व्यक्तित्व र क्षमताका हिसाबले सुवास नेम्वाङको विजय सुनिश्चित रहेको दाबी गरिन् ।
उनले आफूले कृषिमन्त्रीका रूपमा छोटो अवधिमा धेरै राम्रा काम गरेको पनि दाबी गरिन् ।