साढे २ क्वीन्टल गाँजा बरामद
विराटनगर –सुनसरीको हरिनगर गाउँपालिका ५ को नरकटियाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
हरिनगरको भुटाहा–घुस्की सडकखण्डबाट सशस्त्रले १२ बोरा प्रतिबन्धित लागुऔषध बरामद गरेको हो ।
सशस्त्रको वसन्तपुर बीओपीबाट खटिएको ७ जना मोबाइल गस्तीको टोलीले गाँजा बरामद गरेको हो । सहायक प्रहरी निरीक्षक सुमन रानाभाटको कमाण्डमा खटिएको टोलीले गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआइजी कमल गिरीले बताए ।
बरामद गाँजा २५८ किलोग्राम रहेको उनले जानकारी दिए । भुटाहाबाट घुस्कीतर्फ जाँदै गरेको बिआर १ एके ७१०० नम्बरको भारतीय स्कोरपियोलाई चेकजाँच गर्दा सशस्त्रले गाँजा बरामद हो ।
प्रहरीले गाडी रोकेर चेकजाँच गर्न खोज्दा चालक भने गाडी नरोकी भाग्ने प्रयास गर्दा गाडीको पिछा गर्ने क्रममा खेतको छेउमा गाडी र गाँजा बरामद गरिएको सशस्त्रले जनाएको छ ।
प्रहरीका अनुसार चालक फरार छन् । बरामद गरिएको गाँजा भने प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई बुझाएको जनाएको छ ।