Nic Ad Nic Ad
Nic Ad Nic Ad

धारामा पानी आउँदैन, बिल ५५ हजार !

मंगलबार, फागुन १६, २०७९

पोखरा– पोखरा–१७ छोरेपाटनकी अनितादेवी शर्माले घर बनाएको १० वर्षभन्दा बढी भयो । उनले खानेपानीको समस्या झैल्दै आएको पनि त्यति नै भयो ।

तर, हरेक महिना खानेपानी संस्थान पोखरा कार्यालयमा पुगेर पैसा बुझाउन छाडेकी छैनन् । 

पैसा तिरेर धारामा आएको पानीले उनलाई पुग्दैन । ‘घर बनाएको १० वर्ष भयो पानीले कहिल्यै पुग्दैन,’ उनले भनिन्, ‘मोटर नै लगाएर ताने पनि सानो आउँछ । पु¥याउनै गाह्रो छ ।’

उनले खानेपानी संस्थानलाई मासिक ११० रुपैयाँ बुझाउने गरेको बताइन् । त्यसले नपुगेर महिनामा १ ट्यांकर पानी ९०० रुपैयाँ तिरेर खरिद गर्नुपर्ने उनको भनाइ छ ।

पोखरामा खानेपानी नियमित नआउने मात्र होइन, मिटरमा पनि समस्या छ । पोखरा–१२ की इन्दिरा भण्डारीको घरमा मिटरमा समस्या भयो । मिटरमा समस्या भएकै कारण गएको असोजमा खानेपानीको बिल ५५ हजार रुपैयाँ आएको उनले बताइन् । 

पछि निवेदन दिएपछि ५०० रुपैयाँ मात्र तिरिन् । ‘मिटरमा समस्या भएर असोज महिनाको बिल ५५ हजार आयो । अनि पछि निवेदन दिएपछि ५०० मात्र तिरेर आएँ,’ उनले भनिन्, ‘त्यसपछि पनि ३२ हजार आयो, अनि फेरि निवेदन दिएर मिलाइयो । अहिले चाहिँ मिलाएको छु । अहिले त महिनामा ११० तिर्छु ।’

सेवाग्राहीले गुनासो गरिरहँदा खानेपानी संस्थानका पोखरा कार्यालय प्रमुख आशिष कार्की भने त्यति धेरै समस्या नरहेको बताउँछन् ।

‘पोखरामा पानीको त्यति साह्रै समस्या छैन,’ उनले भने, ‘समस्या नै नभएको त होइन, तर ५० हजार धारामा ५÷१० प्रतिशतमा समस्या त हुन्छ नै ।’ 

संस्थानमा कर्मचारी अभावले केही समस्या भएको प्रमुख, कर्मचारी कम हुँदा धेरै काम गर्न नसकेको उनको भनाइ थियो ।

पोखराभर सयभन्दा बढी स्थानमा लिकेज भएकाले समस्या रहेको उनले बताए । यसका लागि बक्यौता न्यूनीकरण कमिटी गठन गरेर काम भइरहेको छ ।

डिजिटल रिडिङ डिभाइसमा कर्मचारी पोख्त नहुँदा समस्या भएको प्रमुख कार्कीले बताए । ‘भर्खरै हामीले डिजिटल रिडिङ डिभाइस ल्याएका छौँ । त्यसमा कहिलेकाहीँ धेरै अंक पनि हान्न सकिन्छ,’ उनले भने, ‘यो भनेको मान्छेको गल्ती हो । यस्तो अवस्थामा निवेदन दिएको खण्डमा तत्कालै समाधान गरिन्छ ।’

यहाँ निर्माणाधीन पोखरा खानेपानी सुधार आयोजनाको काम सकिएपछि पनि समस्या धेरै सुधार हुने उनको भनाइ थियो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०को अनुदान सहयोगमा निर्माणाधीन काम ८९ प्रतिशत पूरा भएको उनले बताए ।

जाइकाको ५ अर्ब रुपैयाँको अनुदान सहयोगमा सो आयोजना २०७६ सालमा सुरु भएको थियो । कोरोनाका कारण काममा ढिलाइ भएकाले हालसालै १ वर्ष म्याद थपिएको उनले बताए ।

सन् २०२४ सम्म यो आयोजना पूरा भएपछि पोखराको खानेपानी समस्या केही हदसम्म समाधान हुने उनी बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्