Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वास्थ्यमा सबैको पहुँचका लागि विशेष कार्यक्रममा जोड

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका समुदायलाई लक्ष्य गरी विशेष कार्यक्रम ल्याउन नीतिगत व्यवस्था हुनुपर्ने बताएकी छिन् । 

samridhi jewllers

राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा विज्ञ डा। सुशील बरालको प्रस्तुतिपछि उनले तराईका डोम र राउटेलगायत समुदायलाई केन्द्रित गरी स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम ल्याउन जरुरी रहेको बताइन् ।

समिति सभापति दिलकुमारी रावलले कोरोना र डेंगीको महामारीका बेला समितिले दिएको सुझाव सरकारले कार्यान्वयन गरेकामा आभार प्रकट गर्दै भविष्यमा स्वास्थ्य सेवालाई चुस्त र प्रभावकारी तुल्याउन कानुनी एवं संरचनागत सुधारका लागि समितिले पहल गरिरहेको बताइन् । 

डा। बरालले मानव, जनावर र वातावरणीय स्वच्छताका लागि केन्द्रदेखि स्थानीय तहसम्म एकीकृत अवधारणा तर्जुमा गर्न आवश्यक रहेको बताए । 

नेपालमा खोपको अवस्था निकै राम्रो रहेको भनिए पनि केही वर्षअघि नेपालगन्ज क्षेत्रमा दादुराको प्रकोप नियन्त्रण बाहिर गएको घटनाबाट शिक्षा लिन जरुरी रहेको बताउँदै विज्ञ बरालले आकस्मिक रूपमा आइपर्ने यस्ता चुनौतीलाई सम्बोधन गर्न नवीनतम प्रणालीको विकास गरी बृहत् कार्यक्रम बनाउनुपर्ने बताए । 

यसअघि बैठकमा समितिका सदस्यले स्वास्थ्य क्षेत्रमा सुधारका लागि व्यावहारिक कार्यविधि र नियम बनाउन बनाउनुपर्नेमा जोड दिएका थिए । 

स्वास्थ्य सेवा प्रवाह सेवाग्राही रहेको स्थानबाट कम्तीमा ३० मिनेटको दुरीमा रहनुपर्ने भए पनि देशमा त्यो अवस्था नरहेको जनाइएको थियोे ।

बैठकमा देशमा १ लाख ३८ हजारभन्दा बढी गाउँघर क्लिनिक, १६ हजार ५०० भन्दा बढी खोप केन्द्र, वडामा ६ हजार ७४३ स्वास्थ्य संस्था सञ्चालनमा रहेको तथ्यांक प्रस्तुत गरिएको थियो । 

सरकारी निकायमा स्वास्थ्य जनशक्तिको दरबन्दी ३१ हजार ५९२ रहेकामा ५१ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका देशभरि समुदाय तहमा परिचालनमा रहेको जानकारी दिइयो ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्