Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपति चुनावअघि नै विश्वासको मत र मन्त्रिपरिषद् पुनर्गठनको तयारी

मन्त्रीको शपथ फागुन २८ पछि !
मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी थालेका छन् ।

गठबन्धन दलबीच ‘व्यावहारिक रूपमा अविश्वास हटाउन’ प्रधानमन्त्री प्रचण्डले तत्कालै यी २ काम गर्न लागेका हुन् ।

गठनबन्धन दलबीच अविश्वास बढाउन विभिन्न प्रकारका हल्ला फैलाउने कार्य भएकाले त्यसलाई चिर्न पनि मन्त्रिपरिषद् पुनर्गठन र प्रधानमन्त्रीले विश्वासको मत लिन आवश्यक देखिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

‘राष्ट्रपति निर्वाचनअघि प्रधानमन्त्रीले विश्वासको मत लिने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने काम हुन्छ, गठबन्धन दलबीच अविश्वास पैदा गर्न विभिन्न हल्ला फैलाइएकाले व्यावहारिक रूपमा अविश्वास हटाउन पनि यी २ काम आवश्यक देखियो भन्ने प्रधानमन्त्रीज्यूको भनाइ छ,’ ती नेताले भने ।

अहिले प्रधानमन्त्री प्रचण्डसँग १६ मन्त्रालयको जिम्मेवारी छ । अहिले प्रधानमन्त्रीबाहेक १ जना उपप्रधानसहित ५ जना मन्त्री र १ जना राज्यमन्त्री छन् ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरी नेपाली कांग्रेस, जनता समाजवादी, एकीकृत समाजवादीलगायत दललाई सरकारमा सहभागी गराउन चाहेका छन् ।

फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदै छ । सो निर्वाचनमा ८ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङबीच प्रतिस्पर्धा हुँदै छ ।

८ दलीय गठबन्धनले आफ्ना उम्मेदवार पौडेललाई राष्ट्रपति बनाउन र गठबन्धनमा अविश्वास नदेखियोस् भन्नका लागि प्रधानमन्त्रीले विश्वासको मत लिने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने काम सँगै गर्न लागेका हुन् ।

‘प्रधानमन्त्रीले राष्ट्रपति निर्वाचनअघि नै विश्वासको मत लिनुहुन्छ, त्यसको तयारी पनि भएको छ, अब बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुखले यो कुराको जानकारी दिनुहुन्छ होला,’ माओवादी केन्द्रका ती नेताले भने ।

मन्त्रीको शपथ फागुन २८ पछि !

नेपाली कांग्रेसका नेताहरूले भने फागुन २५ पछि मात्रै आफूहरूलाई सरकारमा सहभागी गराए पनि हुने जानकारी प्रधानमन्त्रीलाई दिएका छन् । अहिले मन्त्री बन्दा हट्न लागेका राष्ट्रपतिबाट शपथ गर्नुपर्ने भएकाले नयाँ राष्ट्रपतिबाट शपथ खान भन्दै कांग्रेसले यस्तो धारणा राखेको हो ।

‘गठबन्धनबीच व्यावहारिक रूपमा अविश्वास हटाउन मन्त्रिपरिषद् पुनर्गठन पनि गर्नुपर्ने छ, कांग्रेसले २९ फागुनमा नयाँ राष्ट्रपतिले कार्यभार सम्हाल्ने भएपछि नयाँ राष्ट्रपतिबाट मात्रै शपथ खान पाए हुन्थ्यो भन्ने आशय व्यक्त गरेको छ, कांग्रेसबाट तत्काल मन्त्री नियुक्त भए पनि शपथ भने फागुन २८ पछि मात्रै पनि हुन सक्छ,’ माओवादीका ती नेताले भने ।

मन्त्री नियुक्त भएपछि कति समयभित्रमा शपथ गरिसक्नुपर्ने भन्ने कुनै कानुनी व्यवस्था छैन । तर, शपथ नगरी कार्यभार सम्हाल्न भने पाइँदैन ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्