इटालीमा ६३ जना आप्रवासीको मृत्यु, दर्जनौं बेपत्ता
स्टेक्काटो डि कुट्रो– इटालीको दक्षिणी तटमा आइतबार भएको डुङ्गा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् । उक्त दुर्घटनामा कम्तीमा आठ जना बालबालिकाको ज्यान गएको थियो ।
मध्य समुद्रमा आँधीबेहरीका बीच काठको डुङ्गा फुटेर उक्त दुर्घटना भएको थियो । असी जनाको जीवितै उद्धार गरिएको थियो । एक सय ७० जना बोकेर टर्कीएको समुद्रबाट डुङ्गामा उनीहरू इटालीको समुद्री तटमा पुगेका थिए ।
दुर्घटनाग्रस्त डुङ्गामा धेरै जना पौडिन नजान्ने थिए ।
तट रक्षक, गोताखोर, सुरक्षाकर्मीलगायत खोज तथा उद्धारमा जुटेका छन् । दुईवटा हेलिकप्टर पनि खोजमा परिचालन गरिएको छ । दक्षिणी सहर क्रोटोनको खेलमैदानमा मृतकहरूको पहिचानका लागि शव राखिएको छ ।
सरकारी अधिकारीले मृतकका आफन्तहरूलाई दुर्घटनामा परेका प्रियजनको विवरण उपलब्ध गराउन आग्रह गरेका छन्। उनीहरूले खोज तथा उद्धारमा विलम्ब गरिएको आरोपको खण्डन गरेका छन् ।