Nic Ad Nic Ad
Nic Ad Nic Ad
मन्त्रालय भागबन्डा

पूर्णबहादुरले नचाहे शेखरको नेतृत्वमा सरकारमा जाने तयारीमा कांग्रेस 

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– नेपाली कांग्रेस र  नेकपा माओवादी केन्द्र मन्त्रालय भागबन्डामा लागेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि कांग्रेस पनि सरकारमा सहभागी हुन लागेको हो ।

नेपाली कांग्रेसबाट कसको नेतृत्वमा सरकारमा जाने भन्ने अझै यकिन भइसकेको छैन । तर, उपसभापति पूर्णबहादुर खड्काले सरकारमा जान चाहेमा उनकै नेतृत्वमा कांग्रेस सरकारमा जानेछ । 

‘पुस १० मा भत्किएको गठबन्धन ब्युँताएर अहिलेको परिस्थिति निर्माण गर्न उपसभापति खड्काको भूमिका सबैभन्दा महत्वपूर्ण छ, त्यसैले उहाँले सरकारमा जान चाहेमा उहाँकै नेतृत्वमा र नचाहेमा अन्य नेताको नेतृत्वमा कांग्रेस सरकारमा जान्छ,’ कांग्रेस सभापति शेरबहादुर देउवा निकट स्रोतले भन्यो ।

यद्यपि, कांग्रेस नेता प्रकाशमान सिंह भने कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा अझै छलफल चलिरहेको बताउँछन् ।

राष्ट्रपति निर्वाचनअघि सरकारमा जाँदा राम्रो हुन्छ कि राष्ट्रपति निर्वाचनपछि भन्ने विषयमा पनि छलफल चलिरहेकाले पनि कसको नेतृत्वमा सरकारमा जाने भन्ने यकिन नभएको उनको भनाइ छ ।

‘राष्ट्रपति निर्वाचनअघि सरकारमा जाने कि पछि भन्ने विषयमा छलफल चलिरहेको छ । त्यसकारण कसको नेतृत्वमा सरकारमा जाने भन्ने पनि यकिन भइसकेको छैन,’ नेता सिंहले सिएन नेपालसँग भने ।

अर्का नेता रामहरि खतिवडा भने सरकारमा जाँदा नेतृत्व गर्ने स्वाभाविक हक पूर्णबहादुर खड्काको भएको बताउँछन्। अहिलेको गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले पनि उपसभापति खड्का स्वाभाविक दाबेदार भएको खतिवडाको भनाइ छ ।

‘उपसभापति पनि भएको र अहिलेको परिस्थिति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण कांग्रेसबाट नेतृत्व गरेर जाने स्वाभाविक हक पूर्णबहादुर खड्काकै हो, उहाँले इच्छा नदेखाएको अवस्थामा भने अन्य विकल्पको खोजी होला,’ नेता खतिवडाले भने ।

खड्काले सरकारमा जान नचाहेमा शेखर कोइरालाको नेतृत्वमा सरकारमा जाने सम्भावना रहेको पनि बताए । कांग्रेसले सरकारमा अधिकांश नयाँ अनुहारलाई मन्त्री बनाएर पठाउने खतिवडाको भनाइ छ ।

‘पार्टीभित्रको समीकरणका कारण उपसभापति खड्काले नचाहेमा शेखर कोइरालाको नेतृत्वमा सरकारमा गइन्छ होला । अब बन्ने मन्त्रीमा नयाँ अनुहारको संख्या अधिक हुनेछ,’ नेता खतिवडाले भने ।


 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १७:५१
प्रतिक्रिया दिनुहोस्