Nic Ad Nic Ad
Nic Ad Nic Ad

गणतन्त्रको मर्मानुसार सङ्गीत, कला र संस्कृतिको विकासमा लाग्नुस् : पर्यटनमन्त्री किराती

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सङ्घीय गणतन्त्र नेपालको मर्मानुसार नेपाली सङ्गीत, कला र संस्कृतिको विकासमा लाग्न तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपतिलगायत प्राज्ञहरूलाई आग्रह गरेका छन् । 

नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज तीनवटै प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञहरूबीच भएको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री किरातीले कला संस्कृतिको नयाँ–नयाँ खोज अनुसन्धान गरी समाजका वास्तविक इतिहासका तथ्यलाई बाहिर ल्याउनुपर्नेमा जोड दिए । 

उनले अहिले प्रतिष्ठान परीक्षाको घडीमा रहेको र परीक्षामा कुनै हालतमा पनि फेल हुन नहुनेमा जोड दिए । उनले भने, ‘परीक्षामा फेल भइयो भने हामी फेल हुने होइन, राज्य व्यवस्था नै फेल हुने हो ।’ उनले सचेत बनेर काम गर्न सुझाव पनि दिए । 

उनले समाजको जरामा बसेर समाजको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै गणतन्त्रको मर्मलाई कदापि भुल्न नहुनेमा जोड दिए । मन्त्री किरातीले समाजवादोन्मुख राज्यव्यवस्था हुने भन्ने संविधानको भावनालाई आत्मसाथ गर्दै त्यहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपाली समाजको विविधतालाई ध्यान दिन आग्रह गर्दै उनले जनताको ज्ञानलाई संरक्षण, विकाससँगै आधुनिकीकरण गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मालगायत तीनवटै प्रतिष्ठानका उपकुलपति, सदस्यसचिव, प्राज्ञसभा सदस्य र प्राज्ञ परिषद् सदस्यको सहभागिता थियो । 

कार्यक्रममा ती प्रतिष्ठानका कुलपतिहरूले तीनवटै प्रतिष्ठान मिलेर साझा कार्यक्रमका साथ अघि बढ्ने सके थप प्रभावकारी हुने भएकाले त्यो अभ्यास गर्न लागिएको जानकारी गराएका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १९:२३
प्रतिक्रिया दिनुहोस्