तेस्रो ‘नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड’ हुँदै
काठमाडौँ– ‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड– २०२३’ हुने भएको छ । जसमा गीत, संगीत दर्ता गर्न कुनै पनि शुल्क नलाग्ने र सबै प्रकारका गीत दर्ता गरिने अवार्डका अध्यक्ष सूर्य चन्दले बताए ।
उनका अनुसार ‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड’ आगामी वैशाख–२०८० भित्र काठमाडौंमा गरिने भएको हाे । साथै म्युजिक अवार्ड आवेदनको लागि निःशुल्क दर्ता फारम खुलिसकेको आयोजकले जानकारी गराएको छ । जसका लागि २०७८-७९ का गीत–संगीतलाई समावेश गरिने भएको छ भने नव प्रतिभाको हकमा २०७८ भित्र गीत निकालेको हुनुपर्नेछ ।
क्रिएटिभ इन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको उक्त अवार्डलाई शुभकामना मिडिया सोलुसन प्रालिले व्यवस्थापन गर्ने भएको छ । सञ्चारकर्मी तथा कलाकार चन्दको अध्यक्षतामा हुने यस अवार्ड कार्यक्रमको निर्देशक सुमन बैरागी पण्डित रहेका छन् ।
उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गीत (तीज, दशैँ, तिहार, होली), भजन, पप–आधुनिक गायक–गायिका, भाषा–भाषीका गीत, म्युजिक भिडियो, आर्ट तथा सांस्कृतिकलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।
अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरूलाई सम्मान गरिने छ तथा नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अध्यक्ष चन्दले जानकारी दिए ।