लुम्बिनी प्रदेश : नागरिक उन्मुक्ति र लोसपाले सरकारबाट समर्थन फिर्ता लिने
दाङ –लुम्बिनी प्रदेश सभाको बैठक बुधबार बस्दै छ । बैठकको कार्यसूची सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त ‘मन्त्रिपरिषद् पुनर्गठन तथा कार्य विभाजन’ सम्बन्धी पत्रहरू पढेर सुनाउने, प्रदेशसभा सदस्यहरूले विशेष समयमा बोल्न, मुख्यमन्त्री लीला गिरीबाट मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन सभामा पेश हुने, स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीबाट स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश” सभामा पेश हुनेछ ।
तर मुख्यमन्त्री लिला गिरीलाई समर्थन गरेका दुई दलले समर्थन फिर्ता पनि लिँदै छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो ।
लुम्बिनीका लोसपाका प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेयले सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्यअनुरूप बुधबारको प्रदेश सभा बैठक अगाडि नै समर्थन फिर्ता लिने जानकारी दिए । यस्तै, नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
लुम्बिनीमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोसपा र दुई स्वतन्त्र सांसदसहित ५८ सांसदहरूको समर्थनमा एमालेका लिला गिरी मुख्यमन्त्री बनेका छन् ।