कांग्रेस र एमाले दुवैले प्रतिपक्ष बेन्च रोजेपछि स्थगित भयो संसद् बैठक
काठमाडौँ– बुधबारको लागि तय भएको संसद बैठक विशेष कारणवश स्थगित भयो । तर, त्यस्तो विशेष कारण के भन्ने चाहि बैठक स्थगित गरेको सूचनामा खुलाइएको छैन ।
नेपाली कांग्रेसका नेता तथा सांसद रामहरि खतिवडाले संसद्ले सत्तापक्ष र प्रतिपक्ष छुट्टयाउन नसकेपछि बैठक स्थगित भएको जानकारी दिए ।
अहिलेसम्म संसद्मा कांग्रेस प्रतिपक्ष बेन्चमा बसिरहेको छ । एमालेले सरकारमा भएको कारण एमालेका सांसदहरू सत्ता पक्षको बेन्चमा बस्दै आएका थिए ।
तर, सोमबार एमालेले सरकार छाडेका कारण उ पनि पनि विपक्षी बेन्चमा पुगेको छ । तर, कांग्रेस सरकारमा सहभागी नभइसकेको कारण विपक्षी बेन्च खाली हुन सकेको छैन ।
‘संसद्ले सत्ता पक्ष र प्रतिपक्ष छुट्याउन नसकेको असर प्रतिनिधिसभाको बैठकमा पर्यो । कांग्रेस र एमालेका सांसद कहाँ बस्ने बन्ने विवाद हुने अवस्था भएपछि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गरेर नै बैठक स्थगित गरेको सूचना पाएको छु’, सांसद खतिवडाले सिएन नेपालसँग भने ।