Nic Ad Nic Ad
Nic Ad Nic Ad

म्याग्दीमा शैक्षिक बेरोजगारलाई लक्षित गरेर लोकसेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन 

बुधबार, फागुन १७, २०७९

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिकाले शैक्षिक बेरोजगारलाई लक्षित गरेर लोकसेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा मंगलबारदेखि सुरु भएको १४ दिनसम्म सञ्चालन हुने तयारी कक्षामा २३ जनाको सहभागिता रहेको छ ।

गाउँपालिकाभित्र बसोबास गर्ने  माध्यामिक शिक्षा परीक्षा  (एसइई) उत्तीर्ण भएका, शिक्षक र लोकसेवा आयोगको परीक्षामा सहभागी योग्य व्यक्तिबाट आवेदन संकलन गरेर तालिममा दिइएको हो ।

सरकारी सेवाप्रति आकर्षण बढाउन र सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक जनशक्ति उत्पादन गर्न तालिमले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भन । ‘१०–१२ कक्षा उत्तीर्ण हुनेबित्तिकै ‘पासपोर्ट’ लिएर विदेशिने चलनले प्रशासनिक र राजनीतिक क्षेत्रमा हामी पछि परेका हौँ,’ उनले भने, ‘निजामती, सेना, प्रहरी र शिक्षक पेसामा संलग्नता बढाउन निःशुल्क तालिम आयोजना गरेका हौँ ।’

सरकारी सेवामा स्थानीय जनशक्ति नहुँदा पालिका र विषयगत शाखामा कर्मचारी तथा शिक्षकको अभाव भएको अध्यक्ष पुनले बताए । तयारी कक्षाका लागि सहरबजारमा जान नसक्ने तर क्षमता भएकाहरूका लागि गाउँपालिकाले आयोजना गरेको तालिम उपयोगी बन्ने प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले जानकारी दिए । 

निरन्तरको मेहनत र हार नमान्ने हो भने लोकसेवा र शिक्षक सेवामा सफल भइने अनुभव उनले सुनाए । तालिममा शिक्षक सेवा र लोकसेवा आयोगको परीक्षालाई केन्द्रित गरेर सैद्धान्तिक विषयमा सहजीकरण गरिने जनाइएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १३:१४
प्रतिक्रिया दिनुहोस्