कारागारभित्रै रक्सी खाँदै तास खेलेपछि...
इलाम– इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ ।
समिति नै गठन गरेर छानबिन सुरु गरिएको हो । सञ्चारमाध्यममा कैदीहरूले कारागारभित्रै मदिरा सेवन गर्दै गरेको भिडियो सार्वजनिक भएपछि ३ सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयका अधिकृत हरिकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो ।
सो समितिले काम थालिसकेको संयोजक थापाले बताए । भिडियो कहिलेको हो र को–को व्यक्ति यसमा संलग्न थिए भन्ने विषयमा छानबिन हुने र आवश्यक कारबाही अगाडि बढाइने बताइएको छ ।
कानुनले वर्जित गरेका कुनै पनि गतिविधि, मदिरा सेवन, जुवातास तथा मोबाइल फोनसमेत प्रयोग गर्न नपाइने भए पनि कारागारभित्र खुलेआम सो कार्य भइरहेको भिडियो बाहिरिएको हो ।
इलाम कारागारमा भने कानुनले वर्जित गरेका मदिरा सेवन, जुवातास तथा मोबाइल फोन समेतको प्रयोग हुने गरेको र यसमा कर्मचारीको समेत संलग्नता रहेको शंका गरिएको छ ।
जेलर सुमित मगरले उक्त भिडियो कारागारभित्रकै रहेको स्वीकार गरे । यो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदीबन्दी अहिले पनि यही रहेको तथा केही छुटेका र सरुवा भएर गइसकेका उनको भनाइ छ । कारागारको क्षमता १२५ जना भए पनि हाल यहाँ २८० जना छन् ।